लकडाउनका दुई महिनाः सङ्क्रमितको सङ्ख्या झण्डै ६ सय जना

  ०७७ जेठ ११ गते

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि भन्दै नेपालमा लकडाउन गरिएको जेठ ११ गते दुई महिना पुरा भएको छ ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको भएपनि चैत १० गते दोस्रो सङ्क्रमित फेला परेपछि चैत ११ गतेबाट लकडाउन गरिएको हो ।

विश्वभर कोरोनाको सङ्क्रमण उच्च गतिमा फैलिरहेका बेला नेपालमा पनि उक्त सङ्क्रमणबाट जोगिन भन्दै लकडाउन गरिएको सरकारले उल्लेख गर्दै आएको छ ।

यसबिचमा परीक्षणको दर पनि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले तथ्य तथ्याङ्कको अध्यावधिक जानकारी दिन दैनिक मिडिया ब्रिफिङ गर्दै आएको छ ।

ब्रिफिङमा नसमेटिएका जानकारी इन्टरनेट तथा सामाजिक सञ्जालबाट सकेसम्म प्रवाह गर्दै आएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।

जेठ ११ गते दिउँसोसम्म कूल ५ सय ५ जना पुरुष र ७९ जना महिला गरी ५ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाका सङ्क्रमित सबै प्रदेशका ४१ जिल्लामा पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा २ सय ४७ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा चार जना छन् ।

कोरोना पुष्टि भएकामा जेठ ११ गतेसम्म ८९ जना उपचारपछि फर्किएका छन् । तीन जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । सिन्धुपाल्चोककी एक सुत्केरी, बाँकेका र गुल्मीका एक/एक जना पुरुष रहेका छन् ।

सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये २१ वर्षेखि ३० वर्षउमेर समूहका व्यक्ति धेरै रहेका छन् । सो उमेर समूहका व्यक्ति २ सय १८ रहेका छन् ।

त्यसैगरी ११ वर्षेखि २० वर्षउमेर समूहका १ सय १६ जना र ३१ देखि ४० वर्षउमेर समूहका १ सय ३९ जना रहेका छन् ।

यो अवधिमा प्रदेश २ का सबै आठ ओटै जिल्लामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी १४ जिल्ला रहेको प्रदेश १ का सात, १३ जिल्ला रहेको बागमतीका १०, ११ जिल्ला रहेको गण्डकी प्रदेशका तीन, १२ जिल्ला रहेको प्रदेश ५ का सात, १० जिल्ला रहेको कर्णाली प्रदेशका दुई र नौ जिल्ला रहेको सुदूरपश्चिमका चार जिल्लामा कोरोना सङ्क्रमित पुष्टि भएका हुन् ।

प्रदेश १ मा ८६ जना, प्रदेश २ मा १ सय ७२ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश ५ मा २ सय ७१ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १४ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क