लकडाउनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा सुत्केरीलाई समस्या

  ०७७ जेठ १० गते

कोरोना भाइरस जोखिम रोकथामका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि नियमित स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थामा समेत जोखिम बढ्ने त्रासमा  गर्भवती र सुत्केरीहरू समस्यामा परेका छन् ।

कोरोना भाइरसका कारण गत फागुन र चैत महिनामा बागलुङका १० स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा गर्भ जाँच गर्दै आएका ३४ जना गर्भवती  र १ सय २ जना सुत्केरीहरू हाल स्वास्थ्य संंस्थाहरूमा जाँच गराउन नआएको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।

उहाँले कोरोना सङ्क्रमणको डर, यातायातका साधनको सहज पहुँच नहुँदा गर्भ जाँचको लागि स्वास्थ्य संस्था जानेहरू मात्र होइन, प्रसूती हुनका लागि स्वास्थ्य संस्था जानेहरूको संख्यामा समेत कमी आउन थालेको बताउनुभएको छ ।

लकडाउनका कारण यातायात नचल्ने र आर्थिक अवस्था सामान्य भएकाले तत्काल अस्पताल लगिएका कारण बागलुङको ढोरपाटन नगरपालिका–१ की एक ३३ वर्षीया गर्भवतीको वैशाख १ गते मृत्यु भएको छ ।

पाठेघरको बाहिर नलिमा गर्भ रहेर नली फुटेपछि उपचारको लागि हेलिकप्टरबाट पोखरा पुर्याइएकी उनको समयमा उपचार नपाएका कारण मृत्यु भएको उनका परिवारका सदस्य र आफन्त बताउछन् ।

रक्तश्राव भएपछि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र आइपुगेकी उनलाई चिकित्सकले तत्काल सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएपनि यातायात नचल्ने भएकाले तत्काल अस्पताल लग्न सकिएको थिएन ।

वैशाख १ गते बिहान अचानक अत्याधिक रक्तश्राव भइ पेट पनि दुखेपछि परिवारले उनलाई फेरि बुर्तिवाङ स्वास्थ्य केन्द्र ल्याउदा अवस्था नाजुक भइसकेको थियो ।

‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्दार सम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलिकप्टरबाट निःशुल्क उद्दार गर्न खोज्दा लकडाउनका कारण गृह मन्त्रालयको पास कुर्दा–कुर्दै अन्य समयमा एक घण्टामा उपलब्ध हुने सेवा त्यो दिन तीन घण्टा भन्दा बढी समय लागेको थियो ।

अन्ततः हेलिकप्टरबाट उद्दार गरेपनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउदा उनको मृत्यु भइसकेको थियो ।

त्यस्तै जेठ २ गते बागलुङको रायडाँडाकी एक सुत्केरीलाई अत्याधिक रक्तश्राव भएपछि परिवारले हेलिकप्टर मार्फत काठमाडौ पुर्याएर उपचार गरिरहेका छन् ।

धौलागिरी अस्पतालमा शल्यक्रिया मार्फत बच्चा जन्माएकी उनको रत्तश्राव नरोकिएपछि अस्पतालकोे सहयोगमा काठमाण्डौ उद्दार गरिएको थियो ।

लकडाउनको कारणले समयमा स्वास्थ्य संस्था पुग्न नसक्दा गर्भवती र सुत्केरीको ज्यान समेत जाने जोखिम बढेको छ ।

बागलुङका तथ्याङ्क अधिकृत एवंम् सूचना अधिकारी घनश्याम सापकोटाले २०७५ सालको चैत महिनामा ३ सय ३३ जनाले पहिलो पटक र २ सय ५३ जना महिलाले चौथो पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएका थिए ।

सोही समयमा ६ जना महिलाले घरमै बच्चा जन्माए भने २ सय ५० जना महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । उहाँले यो तथ्याङ्कको तुलनामा २०७६ सालको फागुन महिनामा स्वास्थ्य संस्थामा चेकजाँच गराउने र सुत्केरी हुनेहरूको सङ्ख्यामा निकै फरक देखिएको बताउनुभएको छ ।

गत फागुन महिनामा ३ सय ३२ जना महिलाले बागलुङका विभिन्न स्वास्थ्य संस्थाबाट पहिलो पटक गर्भ जाँच गराएका थिए भने २ सय ३८ जनाले चौथो पटक गर्भ जाँच गराएका थिए ।

सोही महिना स्वास्थ्य संस्थामा प्रसूती हुने महिला १ सय ३६ जना छन् भने घरमा सुत्केरी हुनेको सङ्ख्या शुन्य रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कमा रहेको छ ।

अहिले कोरोनाको त्रासले गर्भवती र सुत्केरीमा समस्या परिरहेको धौलागिरी अस्पताल बागलुङका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.सौगात कोइरालाले बताउनुभएको छ ।

फागुन महिनामा देशमा लकडाउन नभएका कारणले बागलुङका स्वास्थ्य संस्थामा गर्भ जाँच गरेका महिलाहरूले जिल्ला बाहिरका स्वास्थ्य संस्थाबाट प्रसूती सेवा लिएकाले चेकजाँच गराउने भन्दा सुत्केरी हुनेको सङ्ख्यामा कमी आएको हुनसक्ने बताउनुहुन्छ ।

चैत्र महिनाको दोश्रो साता देखि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेसँगै अत्यावश्यक बाहेक अस्पताल नआउन आग्रह गरेकाले गर्भ जाँच गर्नेहरूको सङ्ख्यामा कमी र प्रसूती हुनेको सङ्ख्यामा बृद्धि भएको हुनसक्ने डा.कोइरालाको भनाइ छ ।

अन्य समयमा थप सुविधाको लागि पोखरा लगायतका स्वास्थ्य संस्थामा सुत्केरी हुन जाने महिलाहरू लकडाउनको कारणले नजिककैको स्वास्थ्य संस्थामा आएकाले पनि सङ्ख्यामा बृद्धि भएको हुनसक्ने उहाँको धारणा छ ।

अन्य अवस्था भन्दा गर्भावस्था जटिल भएकाले नियमित रूपमा स्वास्थ्य संस्था जान सम्भव नभए फोन मार्फत भएपनि चिकित्सकको परामर्श लिइराख्न कोइरालाले सुझाव दिनुहुन्छ । समयमा गर्भजाँच नगर्दा र स्वास्थ्यकर्मीसँग परामर्श नलिदा समस्या बढ्न सक्ने उहाँको भनाइ छ ।


सिर्जना पन्त