लकडाउनका कारण आम सञ्चार जगत पनि प्रभावित

  ०७७ वैशाख २१ गते 

‘भय र पक्षपात रहित पत्रकारिता’ भन्ने मूल नारा सहित मे ३ संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालको संविधानमा २०७२ मा पूर्ण प्रेस स्वतन्त्रताको कुरा उल्लेख गरेको छ । तर, विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीसँग लडिरहेको बेला नेपाली प्रेस जगत पनि समस्या मै रहेको छ । यो विषम परिस्थितिमा सबै पत्रकारहरूले आफ्नो पेशागत सुरक्षा प्राप्त गर्न सकेका छैनन् ।

यसै बीच, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा इन्सेक बागमती प्रदेश कार्यालयले एक प्रेस विज्ञप्ति प्रकाशन गरी लकडाउनको यस विषम परिस्थितिमा समेत समाचार लेखेको, सम्प्रेषण तथा प्रकाशन भएकै कारण पत्रकारलाई चितवन, सिन्धुली, ललितपुर, काठमाडौँ लगायतका जिल्लामा मुद्दा दायर भएको, धम्की तथा दुर्व्यवहार भएकोमा दुःख व्यक्त गरेको छ ।

साथै विज्ञप्तिमा ‘सञ्चार गृहले नियमित पारिश्रमिक उपलब्ध नगराउँदा आर्थिक रूपमा पनि पत्रकारले आफूलाई सुरक्षित गर्नसक्ने अवस्था रहेन भने लकडाउनका कारण आर्थिक गतिविधि बन्द हुँदा विभिन्न सञ्चारमाध्यम तथा जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिकाको प्रकाशन अझै हुन’ नसकेको उल्लेख गरिएको छ ।

यसै गरि, देशको राजनीतिक परिवर्तन तथा आमनागरिकहरूको चेतनास्तर वृद्धिका लागि नेपाली पत्रकारिताले खेलेको भूमिका उल्येख्य र अविष्मरणीय रहको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बताउनु भएको छ । हरेक क्रिया, प्रतिक्रिया, घटना, परिघटना एवम् वस्तुस्थितिहरूको बारेमा जानकारी प्राप्त गर्ने नागरिकहरूको अधिकारको रक्षाका लागि पनि पूर्ण प्रेस स्वतन्त्रताको आवश्यकता भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार प्रेस स्वातन्त्राको पक्षमा स्पष्ट र प्रतिवद्ध रहेको दाबि गर्नु भएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारी र सङ्क्रमण रोकथामको लागि ०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन घोषणा गरेपछि मोफसलका मात्र हैन राष्ट्रिय स्तरका दैनिक अखबारहरू बन्द भए ।

सञ्चार गृहले पत्रकारहरूलाई बेतलवी बिदा लिन दबाब दिइएको पाइएको छ । बन्द भएका केही राष्ट्रिय स्तरका अखबारहरू पुनः प्रकाशन भए पनि मोफसलका पत्रिकाहरू प्रकाशनको तयारीमा रहे पनि लकडाउनले आर्थिक गतिविधि बन्द भएका कारण समस्यामा रहेको बताइएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले कोरोनाको सङ्क्रमणकालीन हालको अवस्थामा जिल्लामा रहेर काम गर्ने पत्रकार र सञ्चारमाध्यमको अवस्थाबारे इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाउनु भएको रिपोर्टको आधारमा यो प्रतिवेदन तयार पारेको छ ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार देशको सङ्घीय राजधानी रहेको काठमाडौँ जिल्लामा बन्दाबन्दीको सबैभन्दा बढि प्रभाव देखिन्छ । यो बन्दाबन्दीको पहिलो खण्डमा नयाँ पत्रिका बाहेकका अधिकांश ब्रोडसिट दैनिक पत्रिका, साप्ताहिक पत्रिकाहरूको प्रकाशन बन्द भएका थिए ।

पछिल्लो साताबाट केही सञ्चारमाध्यामहरू नियमित रूपमा प्रकाशन तथा प्रसारण सुरु भएका छन् । बन्दाबन्दीको अवस्थामा सर्वसाधारण नागरिकहरूले भोगिरहेका समस्याहरू प्रवाह गर्ने कार्यमा लागिरहेका छन् ।

लकडाउनले सञ्चारगृहहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै अधिकांश ठूला सञ्चारगृहहरूले पत्रकारलाई बेतलवी बिदामा बस्न दबाब दिएको एक जना श्रमजिबि पत्रकारले नाम नबताउने शर्तमा आफ्नो पीडा व्यक्त गर्नुभयो ।

यस्तो अवस्था कान्तिपुर, अन्नपुर्णलगायतका ठूला सञ्चारगृहहरूमा बढी रहेको त्यहाँ कार्यरत पत्रकारहरूको भनाई छ । आफू सम्बद्ध सञ्चारगृहले बेतलवी बिदा बस्न वा आंशिक रूपमा काम गर्न दिएको दबाबले मानसिक तनाव सिर्जना गरेको पत्रकारहरूको भनाई छ ।

पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सङ्कटको बेला पत्रकारहरूलाई जागिरबाट निकाल्ने कार्य अमानवीय भएकोले महासङ्घले सरोकारवाला सबैलाई सचेत गराईरहेको बताउनु भयो । उहाँले पहिलो चरणमा सञ्चारगृह सञ्चालकहरूसँग छलफल गरि समस्याको समाधान निकाल्ने प्रयास भएको दावि गर्नुभयो ।

इन्सेक सिन्धुली जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुलीमा नियमित प्रकाशनमा आएका दुई ओटा दैनिक पत्रिकामध्ये प्रभात समाचार दैनिक नियमित प्रकाशन भएको छ भने चैत ११ गतको लकडाउनदेखि बन्द भएको सिन्धुली सौगात दैनिक वैशाख १८ गतेबाट पुनः प्रकाशनमा आएको छ ।  जिल्लाका दैनिक पत्रपत्रिकाले लकडाउनको अवधिमा कुनै पनि विज्ञापन, सूचना पाउन सकेका छैनन् । स्वरोजगार मूलक पत्रिकाहरू, अनलाईनहरू चलिरहे पनि उनीहरू आर्थिक शङ्कटमा परेका छन् ।

पछिल्लो समय जिल्लामा सञ्चालनमा रहेका सात ओटा एफएम रेडियोहरू पनि आर्थिक शङ्कटमा छन् । तथापी उनीहरूलाई पत्रपत्रिका र अनलाइन जति शङ्कटमा छैन । उनीहरूले सूचना, विज्ञापनहरू, कार्यक्रमहरू पाइरहेका छन । जिल्लाका सात ओटा साप्ताहिक पत्रिका प्रकाशनमा रहेका भए पनि लकडाउनको अवधिमा तीन ओटा साप्ताहिक बाहेक अरु प्रकाशनमा आउन सकेका छैनन् ।

फन्टलाईन विशेष गरि टेलिभिजन, राष्ट्रिय दैनिक पत्रिकालगायतका सञ्चारमाध्यममा काम गरिरहेका पत्रकारहरूलाई स्वास्थ्य सुरक्षाको विषयमा न त मिडिया हाउसले जिम्मेवारी लिएका छन् न त उनीहरूको प्रोत्साहनमा स्थानीय सरकारहरूले ध्यान दिएका छन् ।

उल्टै समाचार लेखेका कारण पत्रकारलाई उजुरी हाल्न खोज्ने धम्क्याउने लगायतका काम समेत भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सिडिओ योगेन्द्रप्रसाद पाण्डेले अस्पतालको समाचार लेखेका कारण अस्पतालका स्वास्थ्यकर्मी र घरबेटीको मुद्दा मिलाउन आउन राससका सम्वाददाता नविनबाबु अधिकारीलाई दबाब दिनु र दुधौली नगरपालिका–१ का वडाध्यक्ष गोविन्द पहाडीले सरकोकार खबर डटकममा समाचार लेखेका कारण नविनबाबु अधिकारीलाई मानसिक तनाव दिँदै राजनीतिक विज्ञप्ति निकाल्न लगाउनु, माफी माग्न दबाब दिनु र समाचारको व्यालेन्सलाई ख्याल नगरि राजनीतिक पूर्वाग्रह राखेको देखिएको छ जसले समाचार सङ्कलनमा पत्रकार सुरक्षित नभएको देखिएको छ । सिन्धुलीका सञ्चारमाध्यमले हालसम्म कुनै पनि कर्मचारी वा सञ्चारकर्मीलाई पेशाबाट विस्थापित गरेको वा निकाला गरेको अवस्था भने छैन ।

इन्सेक चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार चितवनमा पत्रकार परिचय पत्रवाहकहरूका लागि स्वतन्त्र तरिकाले हिडडुल गर्न दिइएको छ । सूचना सङ्कलन गर्ने पत्रकारहरूलाई कुनै अवरोध नगर्नका लागि सर्कुलर गरेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताउनु भयो ।

लकडाउनको यस अवधिमा गत वैशाख १५ गते कायाकैरन दैनिकका प्रधान सम्पादक विनोद रिजाल र रेडियो त्रिवेणीका पत्रकार अर्जुन अधिकारीलाई भरतपुर १० चौविसकोठीबाट प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिइ छाडेको थियो ।

यस घटनाको पत्रकार सम्वद्ध सङ्घसंस्थाले विरोध गरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख नान्तीराज गुरुङले माफी माग्नु परेको थियो ।  यस्तै अस्पतालको बारेमा समाचार सार्वजनिक गरेपछि असन्तुष्ट पक्षले पत्रकार सुवास पण्डितलाई धम्कि दिइएको थियो ।

चितवनमा अनलाइन सञ्चार माध्यम, एफएम र टिभी निर्वाध रूपमा सञ्चालनमा छन् । तर, यहाँबाट प्रकाशन हुने पाँच ओटा दैनिक पत्रिका र साप्ताहिक पत्रिकाहरू भने चैत ११ गतेदेखि नै छापिएका छैनन् । पत्रपत्रिका वितरणसँग सम्बन्धित रहेकाले बन्द गर्नुपरेको चितवन पोष्ट दैनिकका व्यवस्थापक गोविन्द अर्यालले बताउनु भयो । पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा फिल्डमा खटिएर काम गर्ने पत्रकारहरूका लागि मास्क, सेनिटाइजर स्वास्थ्य सुरक्षा सामान दिइएको बताउनु भयो ।

इन्सेक नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार नुवाकोट जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन् । लकडाउनको कारण जिल्लाको एक दैनिक र सात ओटा साप्ताहिक बन्द रहेकोमा दुई ओटा साप्ताहिकले यसै साताबाट पुनः प्रकाशन सुरु गरेका छन् ।

जिल्लाका अधिकांश पत्रिकाहरू काठमाडौंमा छापेर ल्याउने गरिएकोले सबैतिर लकडाउनको कारण ठप्प र प्रेस पनि बन्द हुँदा छाप्न कठिनाई भएको कारण प्रकाशन रोकिएको इमेज साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनु भयो ।

जिल्लामा पनि लकडाउनको कारण प्रेस बन्द गरिएकोले जिल्लामै छपाई हुने पत्रिका पनि प्रकाशन रोकिएको छ । लकडाउनपछि सामान्य दैनिकी सुरु हुदाँ मात्रै पुनः प्रकाशन निरन्तर हुने प्रकाशकहरूले जनाएका छन् ।

जिल्लाबाट सञ्चालन भएको रेडियो, टेलिभिजन र अनलाइन पत्रिकाहरू भने सञ्चालन भइरहेका छन् । जिल्लामा कार्यरत सञ्चारकर्मीहरूले समाचार सङ्कलनमा कठिनाई भोग्नु परेको भने छैन ।

फोन, इमेल, सामाजिक सञ्जालमार्फत सूचना तथा विवरण सङ्कलन गरि रिपोर्टिङका कामहरू गर्दै आएको नागरिक दैनिककी नुवाकोट संवाददाता भगवती लामाले बताउनु भयो ।

सञ्चारकर्मीहरूलाई आफू कार्यरत संस्थाको परिचयपत्र देखाएर रिपोर्टिङमा जाँदा सवारीसाधन चलाउन दिएको छ । रिपोर्टिङको लागि स्थानीय प्रशासनको छुट्टै पास लिनु पर्ने बाध्यता रहेको छैन ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार भक्तपुरबाट प्रकाशित एवम् प्रसारित हुने सञ्चार माध्यम र भक्तपुर कार्यक्षेत्र बनाएर काम गर्ने क्रियाशिल पत्रकारहरू लकडाउनका कारण प्रतक्ष्य प्रभावमा परेको पाइएको छ ।

भक्तपुरबाट प्रकाशित हँुदै आएको मजदुर दैनिक पत्रिका नियमित प्रकाशित भए पनि अन्य पत्रपत्रिका भने केही आंशिक तथा केही पूर्ण रूपमा बन्द छन्

भक्तपुरका पाँचओटा रेडियो नियमित प्रशारणमा छन् । सबै रेडियोले प्राविधिक मात्रै स्टेशनमा राखेर सञ्चालन गरिरहेका छन् । रेडियो हिमालयन ९९.७ मेगाहर्जले आफ्नो नियमित सात ओटा समाचार बुलेटिन घरघरबाटै प्रसारण गरिरहेको छ । अनलाइनहरू घरबाटै अपडेट गरिरहेका छन् ।

सरकारले घोषणा गरेअनुसार घरधनीहरूले घर भाडा छुट दिन नमानेपछि यहाँका सञ्चारमाध्यमहरू समस्यामा परेका छन् भने अधिकांश कर्मचारी भएका सञ्चार गृहलाई तलब भुक्तानी गर्न निकै कठिन भएको पाइएको छ ।

अधिकांश सञ्चारकर्मी घर मै रहे पनि विशेष गरि रासससहित केही दैनिक पत्रिकाका संवाददाता, केही टेलिभिजनका सम्वाददाता र फोटो तथा भिडियो लिने केही पत्रकारहरू भने निरन्तर कार्यक्षेत्रमा खटिएर नै समाचार, भिडियो एवम् तस्विर लिइरहेको र सम्प्रेषण गरिरहेका छन् ।

यो अवस्थामा सञ्चारकर्मीहरू जोखिमका रूपमा रहेको जिल्लाका कोरोना सङ्क्रमितको उपचार भईरहेको अस्पताल र शङ्काष्पद बिरामीको नजिक पुगेर काम गरेको पाइएको छ ।

तर, सञ्चारकर्मीहरूका लागि न्यूनतम आवश्यकताका पूर्वाधारहरू छैनन् । यसरी काम गर्दा पनि कतिपय सञ्चारगृहले मासिक तलब नदिइरहेको पाइएको छ भने सुरक्षाका सामग्री समेत उपलब्ध नगराइएको पाइएको छ । कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीका लागि सरकार वा कार्यरत सञ्चारगृहले बीमाको व्यवस्था पनि गरेका छैनन् ।

इन्सेक धादिङ् जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार जिल्लाका पत्रकारहरू र सञ्चार संस्थाहरू समस्यामा परेका छन् । स्थानीय सञ्चार माध्याममा कार्यरत पत्रकार र राष्ट्रिय स्तरको सञ्चार माध्याममा कार्यरत पत्रकारहरूमध्ये ज्यालादारी रूपमा काम गरि रहेकाहरूलाई बढी समस्या परेको पाइएको छ ।

समाचार प्रकाशनको आधारमा प्रति समाचारका हिसाबले पैसा पाइरहेका पत्रकारहरूले ज्याला बापतको रकम नपाउँदा समस्या भोगेका छन् ।

जिल्लामा सञ्चालित आठ ओटा रेडियोमध्ये युनिक एफएम लकडाउनका कारण बन्दभएको छ । एउटा रेडियो लकडाउन पहिला नै बन्द भएको थियो । यसबाहेक ६ ओटा एफएम रेडियो सञ्चालनमा रहेको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले जानाकारी दिनुभयो ।

रेडियोले कर्मचारीहरूलाई बिदामा पठाएको छ ।  न्यूनतम पारिश्रमिकमा काम गरिरहेकाहरूलाई विना तलब घर पठाउँदा सञ्चारकर्मीहरू समस्यामा परेका छन् ।

राष्ट्रिय स्तरको सञ्चार माधयाममा कार्यरत पत्रकारहरूमध्ये नागरिक दैनिकका संवाददाता सरिता श्रेष्ठले पारिश्रमिक नपाएको एक वर्ष भएको बताउनु भयो । न्यूनतम रकम त्यै पनि समयमा नपाउँदा धान्न सक्ने अवस्थानै नभएको नेपाल पत्रकार महासङ्घ धादिङका सहसचिव समेत रहनु भएका श्रेठको भनाई छ । जिल्लाको एकमात्र दिव्यदर्शन टेलिभिजन नियमित कार्यक्रमहरू रोकेर कोरोना विषेश कार्यक्रम मात्र सञ्चालन गरिरहेको छ । विज्ञापन नहुँदा सञ्चारकर्मीहरूलाई पारिश्रमिक दिन समेत ऋण खोज्नु परेको दिव्यदर्शन टेलिभिजनका म्यानेजिङ डाईरेक्टर उत्तम अधिकारीले जानकारी दिनुभयो ।

धादिङका साप्ताहिक पत्रिकाहरू लकडाउनपछि स्थगन भएको छन् । धादिङ जिल्लामा कार्यालय रहेको १३ ओटा अनलाइन मिडिया मध्ये एक ओटामात्र अनलाइन दर्ता छ । एउटा अनलाइनको नविकरण गर्नुपर्ने अवस्थामा छ । बाँकी सबै विना दर्ता सञ्चालनमा छन् ।  सबै मिडियाले सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएका छैनन् ।

जोखिममा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत सुरक्षित गरेर काममा जानसक्ने वातावरण छैन । एप्रोन, सङ्केत चिन्ह, अत्यावश्यक सामग्री समेत पत्रकारहरूसँग नभएको सञ्चारकर्मीहरूको भनाइ छ ।

इन्सेक ललितपुर जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार लकडाउनपछि कागज अभाव, छपाई, ढुवानी र वितरणका समस्याले गर्दा साना लगानी र स्वरोजगारमुलक पत्रिकाहरू स्थगित भएका छन् ।

पत्रकारहरूले समयमै तलब पाउन नसके पनि पेशाबाट निकालिएको पाइएको छैन । प्रेस सङ्गठन ललितपुरका अध्यक्ष इश्वरराज ढकालका अनुसार असुरक्षाका बीच अति आवश्यकीय सेवामा जोखिमका बाबजुत कार्यरत पत्रकारहरका लागि उपकरण र अनलाइन सेवामा सहयोग गर्नु पर्ने खाँचो रहेको छ ।

सकारात्मक समाचार प्रस्तुति प्रति पाठक, दर्शक र श्रोताहरू सचेत बनेको लोकपाटी डटकमका प्रधान सम्पादक एवम् प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहालले भन्नुभयो । ‘नेपालको प्रेस स्वतन्त्रताको अवस्था भौतिक हस्तक्षेपमा पुगेको हदमा मात्र स्वतन्त्रताको हनन हुने र अन्य कुरालाई आलोचनाको कसीमा बुझ्नुपर्ने शिलापत्र डटकमका सम्पादक डिल्ली आचार्यले बताउनु भयो ।

उहाँले एक महिना बन्दाबन्दीमा तलव दिन नसक्ने अवस्थामा पुग्ने मिडियाको जग भने साँच्चै दयनीय भएको बताउनु भयो । ‘क्लास फ्लो अवश्य घटेको छ, तर बजारमा हल्ला गरिएजस्तो कर्मचारी पत्रकार पाल्न नसक्ने अवस्थामा अहिल्यै नेपालका मुलधार भनिएका मिडिया पुगेका छैनन् यो बहानाबाजी मात्र हो’ उहाँले भन्नुभयो ।

राष्ट्रिय समाचार समिति ललितपुरका प्रतिनिधि सुभानु आचार्यका अनुसार लकडाउनको समयमा घरबाटै टेलिफोन संवाद गरेर समाचार तयार गर्ने गरिएको छ । तर, यसरी समाचार सम्प्रेषण गर्न समयमा फोन नउठाउने र वास्तविकता पत्ता लगाउन कठिन हुने गरेको छ ।

ललितपुरमा रहेको उज्यालो एफएमले एकान्तबासबाट समाचार प्रशारण गर्दै आएको डेस्क एडिटर लक्ष्मण कार्कीले बताउनु भयो । एकान्तबासबाट समाचार प्रशारण गर्दा विद्युतिय समस्या आउने, अरु प्राविधिक समस्या हुने, एक्लै बसेर समाचार बाचन गर्दा समाचारको गुणस्तर राम्रो नहुने पाएको उहाँले बताउनु भयो ।

आफूहरूले समाजलाई एकान्तबासमा बस्नु पर्छ भन्ने सन्देश दिन र महामारीको समयमा सुरक्षित रहनका लागि एकान्तबासबाट समाचार प्रशारण गरेको उहाँले जानकारी दिनुभयो ।

इन्सेक काभ्रे जिल्ला प्रतिनिधि हिरामान तामाङका अनुसार  कोरोना भाईरस विरुद्ध सरकारले घोषणा गरेको लकडाउनका कारण काभ्रेका सञ्चारकर्मीहरू पनि समस्यामा परेका छन् ।

सामान्य अवस्थाका बेला काभ्रेमा दैनिक ४५ जना पत्रकार रिर्पोटिङका लागि फिल्डमा खट्ने गरेकोमा लकडाउनपछि मुस्किलले दैनिक १२/१३ जना मात्रै पत्रकार  फिल्डमा खटिने गरेको नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले बताउनु भयो । अध्यक्ष तिमल्सिनाका अनुसार कोरोना विरुद्धको अभियानमा जिल्ला रहेको सामुदायिक रेडियोहरूको भूमिका प्रभावकारी देखिन्छ ।

अधिकांश पत्रकारहरू होम क्वारेन्टाइनमै बसेर सूचना सन्देश प्रवाह गर्ने काममा क्रियाशिल रहेको अध्यक्ष तिमल्सिनाले बताउनुभयो । लकडाउनपछि सञ्चार गृहहरू सञ्चालनमा नआउँदा कतिपय पत्रकारलाई दैनिक गुजरा चलाउनै मुस्किल परेका महासङ्घ अध्यक्ष तिमल्सिनाले बताउनुभयो । त्यस्ता पत्रकारहरूलाई खाद्यान्न समेत महासङ्घ सहयोग गरेको छ ।

जिल्लामा दैनिक, साप्ताहिक, मासिक, पाक्षिक पत्रिका ९९ ओटा दर्ता भएको र लकडाउन हुनु पहिले २५ ओटा मात्रै साप्ताहिक र मासिक प्रकाशनमा आईरहेको महासङ्घका सचिव नगेन्द्र अधिकारीले बताउनु भयो ।

सचिव अधिकारीका अनुसार जिल्लामा दश ओटा एफएम रेडियो र ११ वडा आनलाइन न्यूज पोर्टल सञ्चालनमा रहेका छन् । लकडाउनले गर्दा काठमाडौँबाट प्रकाशन हुने पत्रिकाका जिल्ला संवाददाताहरूले अहिलेसम्म कुनै पनि पारिश्रमिक नपाएको र पत्रकार कटौतीका पर्ने डर रहेको सचिव अधिकारीले बताउनु भयो ।

लकडाउनमा पत्रकारहरूलाई सूङ्चना सङ्कलनका लागि कुनै अवरोध नभए पनि विषयवस्तुको स्रोतसम्म पुग्न भने निकै समस्या रहेको कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता रमा दाहालले बताउनुभयो ।

इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार यहाँका क्रियाशिल  पत्रकारहरूलाई सुरक्षाको समस्या भएको, आवतजावत गर्न नपाउदा वास्तविक सूचना संप्रेसण गर्न कठिनाइ परेको, समयमा पारिश्रमक नपाएको जस्ता समस्या भोग्नु परेको छ ।

जिल्लाबाट प्रकाशित दैनिक, साप्ताहिक र मासिक पत्रिकाहरू सबै स्थगित भएको प्रेस सङ्गठनका जिल्ला संयोजक बिदुर आचार्यले बताउनु भयो ।

एफएम रेडियोमा काम गर्ने पत्रकारहरूलाई घरबाट रेडियोमा जाँदा र रेडियोबाट घर फर्कदा लकडाउन उल्लङ्घन गरेको आरोप आउने गरेको छ । इन्टरनेटको सुबिधा सबैठाउँमा नहुदा घरमा बसेर टीभिमा रिपोर्टीङ गर्न कठिनाइ परिरहेको छ ।

त्यसैगरी लकडाउनले सिर्जित आर्थिक सून्यताले एफएम रेडियोहरूले विज्ञापन नपाएको अवस्था छ । टिभि तथा एफएमहरूमा भ्वाईस सङ्कलन जोखिमका बीच गर्नुपरेको छ ।

लकडाउन ९बन्दाबन्दी० का कारणले नौ ओटा साप्ताहिक र एक दैनिक पत्रिका स्थागित भएको छ । त्यसैगरी जिल्लामा रहेका रेडियोहरू र अनलाइन खवरहरू पोर्टलहरू सञ्चालनमा छन् ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछापमा १ सय भन्दाबढी पत्रकारहरू क्रियाशिल छन् । स्थानीयदेखि राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले समेत नियमित पारिश्रमिक नपाउने र राज्यले तोकेको न्युनतम पारिश्रमिक समेत नपाउने समस्या रहेको छ ।

रामेछाप जिल्लामा हाल सात ओटा रेडियो नियमित प्रसारणमा छन् । केही अनलाइन र तीन ओटा साप्ताहिक पत्रिका प्रकाशित भइरहेका छन् । जिल्लाबाट राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरू पनि क्रियाशिल छन् ।

अलिहे पनि पत्रकारहरूले न्युनतम पारिश्रमिक नपाउने तथा लेखेकै कारण विभिन्न खालका दवाव र धम्कि खेप्नु पर्ने समस्या रहेको नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष रमेश ढुङ्गेले बताउनुभयो । पत्रकारहरूले स्वतन्त्र रूपले कलम चलाउन नपाएको उहाँको भनाई छ ।

रामेछाप जिल्लामा पत्रकारीताको विकाससंगै पछिल्लो समय धम्कि र दबाब बढ्दै गएको नेपाल पत्रकार महासङ्घ रामेछापका सचिव नबराज श्रेष्ठको भनाई छ । अनलाइनमा प्रकाशित भएको समाचारहरू हटाउनको लागि समेत दबाब आउने गरेको उहाँको भनाई छ । विज्ञापन वितरणको समानुपातिक प्रणाली विकास नहुँदा जिल्लामा रहेको सञ्चारमाध्यमहरूले आर्थिक सङ्कट व्यहोर्दै गएका छन् । जिल्लामा प्रकाशित हुने साप्ताहिक पत्रिकाहरू विज्ञापन पाउँदा प्रकाशित हुने र नपाउँदा नहुने अवस्थामा छन् ।

रेडियोहरू समेत आर्थिक सङ्कटको कारण जेनतेन सञ्चाल भइरहेका छन् । एक महिनाभन्दा लामो बन्दाबन्दिले रेडियोहरू अझ सङ्कटमा परेका हजुरको रेडियो रामेछापका व्यवस्थापक दीपक घिमिरेले बताउनु भयो । यदि स्थानीय सरकारले सहयोग नगर्ने हो भने अब रेडियोहरू चल्न नसक्ने उहाँको भनाई छ ।

इन्सेक रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार रसुवामा पाँच ओटा अनलाइन र दुई ओटा रेडियो छन् । प्रेस स्वतन्त्रता हननका घटना जानकारीमा छैन । लकडाउनपछि यहाँ सञ्चालित रेडियोले समयमा पारिश्रमिक दिन नसक्दा केही पत्रकारहरूलाई असहज भएको छ ।

घरघरबाट सुरक्षित तवरले लकडाउनको पालना गरेर पत्रकारहरूले समाचार सम्प्रेषण गरिरहेका छन् । यहाँ पत्रकारहरूलाइ निर्भरताका साथ समाचर सम्प्रेषण गर्न सके पनि कोभिड १९ को जोखिमका कारणले ढुक्कसँग रिपोर्टिङ गर्ने अवस्था छैन । पत्रकारको लागि प्रयाप्त सुरक्षा सामग्री उपलब्ध नहुदा समस्या भइरहेको छ ।

इन्सेक दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जारी भएको लकडाउनका कारण सञ्चार क्षेत्रमा खासै असर परेको छैन् । जिल्लामाबाट प्रकाशन हुने एक मात्र दीक्षण दैनिकको प्रकाशन बन्द भए पनि अन्य सञ्चारमाध्यमहरू नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

दोलखाबाट प्रसारण हुने ६ ओटा सामुदायिक रेडियो सहित सात ओटा एफएम रेडियोहरू नियमित रूपमा प्रसारण भइरहेको छन् भने आधा दर्जन अनलाईनहरु पनि नियमिति सञ्चालनमा रहेका छन् । जिल्लामा क्रियासिल सञ्चारकर्मीहरुलाई रिर्पोटिङ लगायत आवातजावत कार्यमा कुनै पनि अवरोध नभएको नेपाल पत्रकार महासंघ, जिल्ला शाखा अध्यक्ष जीवन लामाले बताउनु भयो ।

इन्सेक मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न देशमा गरिएको लकडाउनको कारण विश्व प्रेस स्वतन्त्रताको अवसरमा अघिल्ला वर्षहरूमा जस्तो औपचारिक कार्यक्रम यो वर्ष मकवानपुरमा हुन सकेन ।

कोरोना भाइरसको कारण मकवानपुरका छापा माध्यमहरू निस्किएका छैनन् । मकवानपुरबाट प्रकाशित हुने पाँच ओटा दैनिक पत्रिका र दर्जनौंको सङ्ख्यामा रहेका साप्ताहिक पत्रिका बन्द भएका छन् ।

मकवानपुरमा रहेको एक मात्र टेलिभिजन र १० ओटा रेडियो भने सञ्चालित छन् । टेलिभिजन र रेडियोमा कार्यरत पत्रकारहरू कोरोनाले जिल्लामा पारेको प्रभाव, त्यसको असर र आम जनतालाई परेको समस्याबारे स्थानिय, प्रदेश र सङ्घीय सरकारलाई झकझकाउने काममा खटिएका छन् । कोरोनाको सङ्क्रमणबारे रिपोर्टिङको लागि स्थानीय प्रशासनले सहज वातावरण बनाइदिएको छ । सञ्चारमाध्यमको परिचयपत्रको आधारमा जुनसुकै बेला र जहाँ पनि रिपोर्टिङको लागि जान अबरोध हुने गरेको छैन ।

आहिलेसम्म रिपोर्टिङमा अबरोध हुने गरेको गुनासो कुनै पत्रकारबाट नआएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष हरि हुमागाईँले बताउनु भयो । यद्यपि फेसबुकमा तथ्यहीन स्ट्याटस लेखेको आरोपमा बारा जिल्ला प्रहरीले मकवानपुरका एक पत्रकारलाई पक्राउ गरेको थियो । तर जिल्ला स्थित पत्रकार महासङ्घको पहलमा उक्त पत्रकारलाई सफाई सहित छुटाईएको थियो ।


इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा