रौतहटमा एक युवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि 

  ०७७ वैशाख १ गते

रौतहटमा एक जना १९ वर्षीय युवालाई बैशाख १ गते कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । इशनाथ नपा–५ मोतिपुरका ती युवा लकडाउनको बेला भारतको नयाँ दिल्लीबाट नेपाल आएको बुुझिएको छ ।

खुल्ला सीमाना भएकाले ती युवा चैत १६ गते नेपाल आएका थिए । घर आउनासाथ गाउँलेहरुले क्वारेन्टाइनमा राखेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । इशनाथ नगरपालिकाको सीमा भारतसँग जोडिएको छ । ती युवकलाई क्वारेन्टाइनमा राखेको औरैया भारतको बिहारसँग जोडिएको छ ।

ती युवा गत चैत १६ गते दिल्लीबाट नेपाल आएको इशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो–“चैत १६ गते घर आएपछि हामीले चैत १७ गते नै इशनाथ नपा–५ मा रहेको औरैया मावि क्वारेन्टाइनमा राखेका थियौं, त्यसपछि चैत २९ गते स्वास्थ्यकर्मीको टोली आएर नमुना परीक्षण गर्न काठमाडौँ पठाइएको थियो ।”

कोरोना भाइरस सङ्क्रमित युवा भारतको मोतिहारी जिल्लासम्म बसमा आएका थिए । त्यसपछि उनी हिंडेरै घर आइपुगेका थिए । युवक दिल्लीमा मजदुरी काम गर्दै आएका थिए ।

जिल्लामा एउटा पनि आइसोलेसन बेड नभएकाले सङ्क्रमित युवकको उपचार जिल्लामा हुन नसक्ने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनु भएको छ । उहाँका अनुसार उनलाई नजिकैको कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ । कोभिड १९ को उपचारका लागि जनशक्ति र उपकरण नभएकै कारण जिल्लामा उपचार हुन नसक्ने रौतहटका जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण साहले पनि बताउनु भएको छ ।


कोपिला तिमल्सिना