रोग पहिचान गर्ने प्रविधि नहुँदा डेंगुका बिरामी समस्यामा 

  ०७३ कात्तिक २४ गते

जिल्ला अस्पताल बर्दियामा डेंगु रोग पहिचान गर्ने प्रविधि नहुँदा बिरामीहरू उपचारका लागि जिल्ला बाहिर जान बाध्य भएका छन् ।

बर्दियामा डेंगुका बिरामी थपिँदै गए पनि उपचार प्रविधि नहुँदा समस्या भएपछि उपचारका लागि बिरामी काठमाडौँ, नेपालगञ्ज र भारतका विभिन्न अस्पतातलमा जान बाध्य भएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य रोग नियन्त्रण कार्यक्रम प्रमुख मोहन शर्माका अनुसार बर्दियाबाट नेपालगञ्जमा उपचारका लागि १५ जना डेंगुका बिरामी गएको बताए ।

लामखुट्टेको लार्भा मार्ने किटनाशक औषधि स्वास्थ्य विभागले नपठाएका कारण समस्या आएको उनले बताए ।

भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा बनियाभार, सानोश्री, ताराताल, सूर्यपटुवा, बाँसगढी, भुरीगाउँलगायतका गाउँबाट आएका डेंगुका बिरामी उपचारार्थ भर्ना भएका छन् ।

सरकारी अस्पतालमा पर्याप्त उपचार व्यवस्था नहुँदा सर्वसाधारण निजी अस्पतालमा गएर महङ्गोमा उपचार गराउन बाध्य छन् ।

दुई सातादेखि फैलिएको डेंगुका कारण करिब ५० जना बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका दुई जनामा डेंगु देखिएपछि नेपालगञ्ज रिफर गरिएको डा. रूपेश वडुले जनाए । स्वास्थ्य कार्यालयका अनुसार डेंगु फैलिएपछि सानोश्री तारातालका स्वास्थ्यकर्मीलाई अनुगमन गर्न निर्देशन दिइएको छ ।

डेंगु फैलिएका क्षेत्रमा स्वास्थ्यकर्मीले बढी ज्वरो आउने बिरामीको निगरानी बढाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल गुलरियामा भने डेंगुका बिरामी फेला परेका छैनन् । जिल्ला अस्पताल गुलरिया, तीन प्राथमिक स्वास्थ्य केन्द्र राजापुर, मगरागाडी र सोरहवामा चिकित्सक भए पनि सङ्क्रमितको रगत परीक्षण गर्ने सुविधा छैन् ।

जाडो मौसम शुरु भएपछि संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको छ । घरभित्र रहेको कुलर, गमला, पानी राख्ने ड्रम, सिसीलगायतमा सङ्क्रमित लार्भा भेटिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

डेंगु नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नष्ट गर्न स्वास्थ्य कार्यालयले स्थानीयलाई आग्रह गरेको छ । डेंगु सङ्क्रमणका बिरामीमा उच्च ज्वरो आउने, आँखाका गेडी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने, नाकबाट रगत बग्ने, कालो दिसा हुने जस्ता लक्षण देखिने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।


मानबहादुर चौधरी