रेबिज विरूद्धको भ्याक्सिनको अभाव हुँदा सेवाग्राही मर्कामा

  ०७६ भदौ २७ गते

जिल्ला सामुदायिक अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिनको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

सडकमा रहेका कुकुरले मानिसहरूलाई टोक्ने क्रम बढेपछि एक साता यता रेबिज विरूद्धको भ्याक्सिन लगाउनेको सङ्ख्या १ सय ४६ पुगेको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले बताए ।

एकैपटक धेरैजनाले भ्याक्सिन लगाएपछि सञ्चित भ्याक्सिन सकिएको र महामारी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौँले माग गरे अनुसार भ्याक्सिन नपठाएकोले समस्या आएको श्रेष्ठको भनाई छ ।

यो आर्थिक वर्षको लागि ५ सय ओटा भ्याक्सिनको माग गरिएको भएपनि महाशाखाले जम्मा २ सय मात्र पठाएकाले हाल भ्याक्सिन सकिएकोले सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

भदौ २५ र २६ गते रेबिजको भ्याक्सिन लगाउन गएकामध्ये १६ जना नलगाई फर्किनु परेको श्रेष्ठले बताए ।

भ्याक्सिन लगाउन नपाएर फर्किएकी बेसीशहर नपा–८ की प्रविना बसेलले भ्याक्सिन लगाउनका लागि तीन दिनसम्म अस्पताल धाएपनि सेवा नपाएको गुनासो गरिन् ।

तत्कालै लगाउनुपर्ने भ्याक्सिन लगाउन नपाउँदा मानसिक तनावसँगै भ्याक्सिन लगाउनका लागि जिल्ला बाहिर जाँदा समय र पैसा दुवै बढी लाग्ने प्रविनाले गुनासो गरिन् ।

मर्स्याङ्दी गाउँपालिकाका–६ का देवेन्द्र गुरुङले सदरमुकाम आउँदा जाँदा यातायात खर्च मात्रै ५ सय तिरेर भ्याक्सिन लगाउन आएपनि सेवा नपाएको गुनासो गरे ।

सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरहरूको टोकाइले समस्या आएपछि नगरपालिकाले नियन्त्रणको पहल गरिरहेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

भ्याक्सिनको लागि महामारी तथा रोग नियन्त्रण महाशाखा, टेकु काठमाडौँलाई यसैसाता पत्रमार्फत् अनुरोध गरिएको नगर प्रमुख गुमानसिंह अर्यालको भनाई छ ।


दलबहादुर मजाकोटी