रेबिज विरूद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा

  ०७६ आउन १५ गते

नेपालगञ्जको भेरी अस्पतालमा रेबिज विरूद्धको भ्याक्सिन अभाव भएपछि बिरामीहरू मर्कामा परेका छन् । अनिवार्य र निःशुल्क भनिएको भ्याक्सिन अभावका कारण बिरामीहरू महङ्गो मुल्य खर्चेर मेडिकलबाट भ्याक्सिन किन्न बाध्य भएका छन् ।

साउन देखि नै अस्पतालमा रेबिजविरूद्धको भ्याक्सिन सकिएकाले बिरामीहरूले सास्ती खेप्नु परेको छ । भेरी अस्पतालमा कुकुरले टोकेका बिरामी दैनिक १५ देखि २० जना आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा भ्याक्सिन उपलब्ध नभएपछि महङ्गोमा खरिद गरेर लगाउने गरेका छन् । राप्ती सोनारी गाउँपालिका–१ का रामहरि चौधरीले रेबिज विरूद्धको निःशुल्क दिइने भ्याक्सिन नपाएपछि मेडिकलमा गएर महङ्गो शुल्क तिरेर लगाएको बताए ।

भ्याक्सिन बोक्ने भ्यान बिग्रिएकाले भ्याक्सिन ल्याउन ढिलाइ भएको र स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गरेकोले समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. रूपानन्द अधिकारीले बताए । उनले  केही दिन भित्रै सेवा उपलब्ध गराउने बताए ।

मुटुरोग सेवा प्रभावित
भेरी अस्पतालमा मुटु रोगको उपचार सेवा पनि प्रभावित भएको छ । स्वास्थ्य सेवा अन्तर्गतको मुटुरोग उपचार सेवा सञ्चालनका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथल्याव सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

भेरी अस्पतालमा उपचारारत दैलेख जिल्लाकी ६८ वर्षीया रेश्माकला भट्टलाई मुटुमा समस्या भएकोले अस्पतालमा भर्ना गरेको भएपनि उपचार पाउन सकेकी छैनन् ।
डाक्टरहरूले भोलि भोलि भनेर ढिला गरेको उनले बताइन् । अस्पतालमा मुटु रोगसँग सम्बन्धित दैनिक ४० बिरामी उपचारका लागि आउने गरेका छन् ।

तीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचापसम्बन्धी बिरामी रहेका छन् । अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा.कृष्णप्रसाद अधिकारी बढुवा भएर समायोजनमा वीर अस्पताल सरूवा भएसँगै उक्त पद खाली भएको हो । उक्त ठाँउमा स्वास्थ्य मन्त्रालयले अझै डाक्टर पठाएको छैन ।

चिकित्सक अभावमा इमरजेन्सी सेवा प्रभावित
भेरी अस्पताल नेपालगञ्जको इमरजेन्सी वार्डमा  आवश्यक चिकित्सक नहुँदा समस्या परेको बिरामीहरूको गुनासो रहेको छ ।

सेवा लिन आउने बिरामीहरूले आफुहरूलाई इमरजेन्सीमा आवश्यक सेवालिन ढिलाइका कारण आर्थिक समस्या भएको र बिरामीहरू जोखिममा पर्ने भएकोले आवश्यक चिकित्सहरू ल्याउन आग्रह गरेका छन् ।

उपचारका  लागि भर्ना भएका नेपालगन्ज उपमनपा–५ का २६ वर्षीय नोसाहद सेखले भर्ना भएदेखि एक पटक मात्र डाक्टर आएर हेरेको र त्यसपछि कुनै वास्ता नगरेको बताए ।
photobanke20190731
इमरजेन्सीमा एक जना डाक्टर, एक जना अहेव र एक जना सहयोगी गरेर तीन जना मात्र रहेका छन् । चिकित्सक अभाव भएको कुरा अस्पताल प्रसाशनसँग माग गर्दा पनि कुनै वास्ता नगरेको भेरी अस्पतालमा कार्यरत अहेव डुडुवा गाउँपालिका–६ का ४० वर्षीय केशर अलीले बताए । उनले इमरजेन्सीमा बिरामी चाप बढी भएकोले तीन जना कर्मचारीले मात्र सेवादिन गार्‍हो भएको बताए ।

अस्पतालमा पर्याप्त कर्मचारी नहुँदा बिरामीलाई सेवादिन समस्या भएको अस्पतालमा कार्यरत कपिलवस्तु एशोधरा गाउँपालिका–८ का २८ वर्षीय डाक्टर मुकेश चौधरीले बताए ।

उनले काम गर्न लागेको दुई वर्ष भइसकेको बताउँदै हालसम्म तीन जना कर्मचारीले मात्र इमरजेन्सीमा सेवा दिइरहेको बताए ।

प्रत्येक दिन अस्पतालमा २ सय जना बिरामी उपचारका लागि आउने भएकाले बिरामीको लागि बेड नपुप्ने र आफूहरूलाई सेवा दिनमा ढिलाई भएको बताए । कतिपय बिरामीलाई बेड अभावमा कुर्न लगाउन परेको साथै बेञ्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताए ।


स्मृति देवकोटा