रेडियो र टेलिभिजनको पहुँच नभएका कारण अनलाइन शिक्षण प्रभावकारी नभएको जिल्लाबासीको गुनासो

  ०७७ असार ५ गते

कोरोनाका कारण ठप्प रहेको विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले ०७७ असार १ गतेदेखि रेडियो तथा टेलिभिजनबाट पढाउने निर्णय गरेको भएपनि आफूहरुको रेडियो र टेलिभिजनमा पहुँच नभएको कारण अनलाइन शिक्षण प्रभावकारी नहुँने जिल्लाबासीहरुले गुनासो गरेका छन् ।

जिल्लाका सबै क्षेत्रमा विद्युतको पहुँच पुग्न नसकेको र टेलिभिजन,रेडियो तथा सञ्चारका साधनमा बिद्यार्थीहरुको पहुँच नभएका कारण रेडियो तथा टेलिभिजनबाट बिद्यार्थीले पढ्न सक्ने अवस्था रहेको सरोकारवालाहरुको भनाइ छ ।

अपिहिमाल गाउँपालिका– ३ का विद्या मन्यालले सरकारले रेडियो र टेलिभिजनबाट पठनपाठन सुरु गरेको जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– “गाउँमा रेडियो सुनिदैन् । टेलिभिजन हेर्न बत्ति छैन् । गाउँमा इन्टरनेट पहुँच छैन् । विद्यालय बन्द भएपछि आफूजस्तै सयौँ बिद्यार्थीको पढाई छुटेको छ । घरकै काम गर्नमा समय बित्ने गरेको छ ।”

लेकम गाउँपालिका–४ खरकडास्थित गल्ला केदार मावि खरकडामा कक्षा १० मा अध्ययनरत जनक बस्नेतले आफूहरुलाई अनलाइन शिक्षण हुँदै छ भन्नेसमेत जानकारी नभएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘रेडियो नेपाल सुनिदैन् । गाउँमा कसैकसैको घरमा मात्रै टेलिभिजन छ । त्यो पनि सोलार विद्युतबाट चलाउनु पर्दा हेर्न मिल्दैन् । विद्युत सञ्चार नपुगेको क्षेत्रमा इन्टरनेट झन प्रभाकारी रुपमा चल्दैन् ।’

व्यास गाउँपालिका– २ मालका अभिभाकव दानसिह कार्कीले गाउँमा सबैको घरमा टेलिभिजन नभएको र  रेडियो नेपाल नसुनिने गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘रेडियो र टेलिभिजनबाट सरकारले पढाई गर्न लागेकोसमेत जानकारी अभिभावकमा पुगेको छैन् । कतिपय विद्यार्थी र अभिभावकलाई पढाइको तालिकाको बारेमा सूचना र जानकारीसमेत पुगेको छैन् । कसरी प्रभावकारी होला अनलाइन शिक्षण ? ’

व्यास गाउँपालिका– ५ का रेना कुवँर गाउँमा टेलिभिजनको पहुँच नहुँदा रेडियो मात्रै सुन्नु पर्ने बाध्यता रहेको बताउनु हुन्छ । बसन्तपुर मावि बसेडीमा कक्षा १० मा अध्ययनरत कुवँर गाउँमा पनि नियमित रुपमा रेडियो नसुनिने हुँदा प्रभावकारी नभएको गुनासो गर्नु हुन्छ ।

उहाँले भन्नु भयो–“खै पढाई हुन्छ भन्ने बारे कसैले भनेका छैनन् । गाउँमा रेडियो नेपाल पनि त सुनिदैन् ।”

हिमाल आधारभूत विद्यालय अपिहिमालका प्रधानाध्यापक नरेन्द्र मन्याल गाउँमा सञ्चार र विद्युतको पहुँच नहुँदा विद्यार्थी पढाईको पहुँचबाहिर रहेको बताउनु हुन्छ ।

उहाँले भन्नु भयो– ‘अधिकाङ्शको घरमा टेलिभिजन र रेडियोको सुविधा छैन् । गाउँ घरमा रेडियो पनि लाग्दैन् । अहिले झन पढाई हुन्छ भन्ने जानकारी लिन इन्टरनेट सुविधासमेत छैन् । गाउँका कतिपय बिद्यार्थी लेकतिर हिडिसकेका छन् । यस्तो अवस्थामा अनलाइन शिक्षण प्रभावकारी हुन सक्दैन् ।’

मार्मा गाउँपालिकाका अभिभावक नन्दनसिंह ठगुन्नाले हिमाली जिल्लाका लागि यो शिक्षण पद्दति उपयोगी नभएको बताउँदै हुने खानेलाई सहज भए पनि हुँदा खाने वर्गका छोराछोरीलाई रेडियो र टेलिभिजनबाट हुने पढाई प्रभावकारी नभएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘फोन नलाग्ने रेडियो नबज्ने ठाउँ छ । टेलिभिजन सबैको घरमा हुने अवस्था छैन् । विद्युतको लाईन पुगेको छैन् । यो पढाई शहरीयाहरुको लागि मात्रै हो । ग्रामीण दुरदराजका बिद्यार्थीको लागि उपयुक्त छैन् । बिद्यार्थीको समस्यालाई ध्यानमा राखेर विकल्प ल्याउनु पर्छ । स्थानीय एफएमहरुलाई पनि यो सिकाईमा अग्रसर गराउन पर्छ ।’

मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मावि मडका प्रधानाध्यापक भुवनबहादुर डागा अनलाइन, टेलिभिजन र रेडियो नेपालबाट भइरहेको पढाइ दार्चुलाको लागि उपयुक्त नभएको बताउनु हुन्छ ।

उहाँले भन्नु भयो– ‘यसको उपयोगिता शून्यजस्तै छ । गाउँमा टेलिभिजनको पहुँच छैन् । केहीको घरमा टेलिभिजन भएपनि ग्रामीण विद्युतीकरणले राती मात्रै विद्युुत बल्छ । सोलार पावरबाट दिउँसो टेलिभिजन हेर्न सकिदैन् । भुगोलको हिसाबले जिल्लाका सामुदायिक रेडियोमार्फत पढाई गर्न सके अधिकाङ्शको घरसम्म पहुँच पुग्न सक्छ ।’

महेन्द्र नमूना मावि खलंगाका प्रधानाध्यापक रामदत्त जोशी पनि अनलाइन टेलिभिजनबाट हुने पढाईले सबै बिद्यार्थीको पहुँचमा नपुग्ने बताउनु भयो । हामीले युट्व अनलाइनमा राखेर पढाइ सुरु गरेका छौँ तर प्रभावकारी देखिएन् । उहाँले भन्नुभयो, यसको लागि जिल्लाकै सामुदायिक रेडियोलाई प्राथमिकता दिएर कक्षा सञ्चालन गर्न उपयुक्त विकल्प हुने बताउनु भयो ।

अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले आगामी नीति तथा कार्यक्रममार्फत अहिलेको पढाइमा परेको अवरोध पूर्ति गर्ने गरी नीति कार्यक्रम ल्याइने बताउनु भयो ।

रेडियो र टेलिभिजनबाट भइरहेको पढाई प्रभावकारी नहुँदा जिल्लाका हजारौं व्यक्तिको पढाई प्रभावित बनेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार जिल्लामा २४ हजार ६ सय १८ घरधुरीमध्ये १५ हजार ६ सय ५३ घरधुरीमा रेडियोको, १ हजार ७ सय ४३ घरधुरीमा टेलिभिजनको, ९ सय ९८ घरधरीमा केवुल टेलिभिजनको पहुँच छ भने ७६ घरधुरीमा इन्टरनेटको पहुँच रहेको छ । जिल्लाका अधिकाङ्श क्षेत्रमा एफएम र रेडियो मात्रै सुनिन्छ ।

 


नरेन्द्रसिंह कार्की