रेडियो धादिङमा सरकारी पक्षबाट गरिएको आक्रमण बन्द गर्न माग

  ०७३ साउन ३१ गते

रेडियो धादिङको भवन वन क्षेत्रमा बनाएको भन्दै जिल्ला वन कार्यालयले डोजर लगाएर भत्काउन खोजेको भन्दै विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित संघसंस्थाहरूले साउन ३० गते विज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन् । ती संस्थाहरूले सूचनाको हक खोस्ने नियतले त्यस्तो कार्य गरेको भन्दै तत्काल उक्त कार्य रोक्न सरकारसँग माग गरेका छन् ।

सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क), प्रेस चौतारी नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ, नेपाल पत्रकार महासङ्घ, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल, गैर सरकारी संस्था महासङ्घ नेपाल, खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घ नेपालले प्रेस विज्ञप्ति प्रकाशन गरी रेडियो धादिङमा भएको आक्रमण बन्द गर्न माग गरेका हुन् ।

नेपाल सरकारले भूकम्पपछि क्षति पुगेका रेडियोहरूले कुनैपनि सार्वजनिक स्थानमा रेडियो सञ्चालन गर्न पाउने निर्णय गरेको र जिल्ला वन कार्यालय र क्षेत्रीय वन कार्यालयले हाल सञ्चालन भएको अमरावती सामुदायिक बनको छेउमा रेडियो सञ्चालन गर्न अनुमति दिएको र भवन बनाउन सरकारलेसमेत लगानी गरेको रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले बताए ।

रेडियो सञ्चालन हुँदै आएको घरमा भूकम्पले क्षति पुर्‍याएपछि रेडियोले जिल्ला वन र क्षेत्रीय वन कार्यालयकै अनुमति लिएर निलकण्ठ-८ साँघुटारस्थित अमरावती सामुदायिक वनको नजिकै आफ्नै भवन निर्माण गरेर रेडियो सञ्चालन गर्दै आएको थियो ।

साउन ३० गते दिउँसो करिब १२ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली सहित डोजर लिएर आएका जिल्ला वन कार्यालयका प्रमुखले रेडियोको भवन भत्काएरै छोड्ने धम्की दिँदै वल प्रयोग गरेर रेडियोको भवन भत्काउने प्रयास गरेको थाहा पाएपछि त्यसको विरोधमा स्थानीयले प्रतिकार गरेका थिए । नागरिकको सूचनाको हक रेडियो धादिङले उपलब्ध गराएकोले भत्काउन नदिएको स्थानीयले बताएका छन् ।

भवन भत्काउनबाट जोगाउनका लागि अघि बढेका स्थानीय ठाकुर बुर्लाकोटी र हरि थापा मगरलाई प्रहरीले साउन ३० गते गिरफ्तार गरेकोमा जिल्ला प्रहरी कार्यालयमा दैनिक हाजिर हुने गरी साउन ३१ गते रिहा गरेको छ ।


सीताराम अधिकारी