रूकुमका ७ सय ९३ बालबालिका कुपोषित

  ०७४ चैत २५ गते

रूकुम पूर्व र पश्चिम दुवैमा ७ सय ९३ जना बालबालिका कुपोषित भएको तथ्याङ्क सार्वजनिक भएको छ । युनिसेफको आर्थिक सहयोग र ग्लोबल हेल्थ एलायन्स नेपाल (घान) को प्राविधिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय रूकुमले सञ्चालन गरेको कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

दुवै जिल्लाका ११ हजार २ सय ९५ बालबालिकाको स्वास्थ्य परीक्षण गरिएकामा ५ सय ४७ बालबालिकामा मध्यम र २ सय ४६ जनामा कडा खालको कुपोषण भेटिएको हो ।

रूकुम पश्चिममा २ सय र रूकुम पूर्वमा ४६ जनालाई कडा कुपोषण देखिएको घानका जिल्ला संयोजक मिलन महर्जनले बताए । रूकुम पश्चिमबाट ६५ र पूर्वबाट २९ गरी ९४ जना कुपोषित बालबालिका उपचारपछि निको भएर घर फर्किसकेका र दुवै जिल्लाका १ सय ४६ जना कुपोषित बालबालिकाको उपचार भइरहेको बताइएको छ ।

कुपोषित बालकालिकाको उपचारका लागि पश्चिममा आठ र पूर्वमा पाँच गरी १३ वटा बहिरङ्ग उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

पाँच जना कडा खालको कुपोषण लागेका बालबालिकालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको संयोजक महर्जनले जानकारी दिए ।

रूकुममा यति धेरै बालबालिकामा कुपोषण देखिनु दुखद भएको जिल्ला स्वास्थ्य कार्यालय रूकुमका निमित्त प्रमुख डा. आलोकचन्द्र महतोले बताए ।


मनिषा केसी