रूकुमका दुई ओटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले पुनःमतदान सुरू

  ०७४ मङ्सिर १५ गते

मङ्सिर १० गते मतदान स्थगित भएका रूकुम (पश्चिम) का दुई ओटा मतदान केन्द्रमा मङ्सिर १५ गते बिहान ७ बजेदेखि शान्तिपूर्ण ढङ्गले पुनःमतदान सुरू भएको छ ।

बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका दुई ओटा मतदान केन्द्रमा मङ्सिर १० गते भएको मतदानको क्रममा मतपेटिकामा एसिड हालेर आगो लागेपछि मतदान स्थगित भएको थियो ।

बाँफिकोट गाउँपालिका-५ को रत्न आधारभुत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यको लागि र आठबिसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यतर्फो समानुपातिकको लागि मतदान सुरू भएको हो ।

बिहान ठीक ७ बजदेखि मतदान सुरू भैसकेको रत्न आधारभुत विद्यालय काँडा (क) मतदान केन्द्र बाँफिकोट-५ का मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

यसअघिको मतदानमा बाँफिकोटमा २ सय ४६ र आठबिसकोटमा ३ सय ३ मत खसिसकेपछि मतपेटिकामा आगो लगाइएको थियो ।

त्यस लगत्तै यी केन्द्रमा मतदान स्थगित गरिएको थियो । मतदान स्थगित भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई गराएपछि आयोगले मङ्सिर १५ गतेका लागि पुनःमतदानको मिति तोकेको थियो ।

बाँफिकोटको मतदान केन्द्रमा ६ सय ७२ र आठबिसकोटमा ७ सय ५६ मतदाता रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय रूकुम (पश्चिम) ले जनाएको छ ।

आजको मतदान बहिष्कार गर्ने नेपाली काङ्ग्रेस आठबिसकोट नगर समितिले निर्णय गरेपनि जिल्ला पार्टीको निर्णय अनुसार काङ्ग्रेस कार्यकर्ता पनि मतदानमा सहभागी भएका छन् ।

आफूहरू लोकतन्त्रको रक्षाका लागि मतदानमा सहभागी भएको नेपाली काङ्ग्रेस रूकुमका सभापति प्रेमप्रकाश ओलीले बताए ।

मतदान केन्द्रमा खटिएका आफ्ना प्रतिनिधिलाई गिरफ्तार गरिएको विरोधमा काङ्ग्रेसले आजको मतदान बहिस्कार गर्ने निर्णय गरेको थियो ।

गत १० गतेको मतदानको क्रममा मतपेटिकामा एसिड हालेको आरोपमा प्रहरीले मतदान केन्द्रमै खटिएका काङ्ग्रेस प्रतिनिधि केशव खड्कालाई गिरफ्तार गरेर अनुसन्धान गरिहेको जनाएको छ ।


मनिषा केसी