रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ मङ्सिर २५ गते

७१ औँ मानव अधिकार दिवसको सन्दर्भमा रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) र मानव अधिकार समूह रुपा गाउँपालिकाको आयोजना तथा रुपा गाउँपालिकाको सहयोगमा गाउँपालिकाका जनप्रतिनिधि, महिला समूहरुलाई मानव अधिकार, लैङ्गिक हिंसा र महिला अधिकारका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङले अधिकार र कर्तव्यलाई सँगसँगै लैजान जरुरी रहेको बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, विकास र सुरक्षामा महिलाहरूको अर्थपूर्ण सहभागितामा जोड दिनुभएको थियो ।

वडा नं ५ का वडाअध्यक्ष टेकबहादुर गुरुङले महिला तथा बालबालिकामाथि हुने हिंसा पहिरनका कारण नभई व्यक्तिको सोचाइ र मनोवृत्तिको उपज भएको बताउनुभयो ।

कार्यक्रममा इन्सेककी कार्यक्रम अधिकृत सवनम शर्माले महिलाको शिक्षा, स्वास्थ्य, विकास, सुरक्षा, अर्थपूर्ण सहभागिता, पहुँच र नियन्त्रणका बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रममा राधा गुरुङको संयोजकत्वमा १७ सदस्यीय रुपा गाउँपालिकास्तरीय महिला सञ्जाल गठन गरिएको थियो ।

सञ्जाल संयोजक गुरुङले गाउँपालिकालाई मानव अधिकारमैत्री बनाउन सहयोग पुग्ने गरी आफूहरु अगाडि बढ्ने बताउनुभयो ।

photo20191211kaski1 (1)

photo20191211kaski1 (2)

photo20191211kaski1 (3)


सुशन घिमिरे