रुकुम (पूर्व) का नौ मतदान केन्द्र सम्पर्कविहीन

  ०७४ मङ्सिर ९ गते

पूर्वी रुकुमका नौ ओटा मतदान केन्द्रमा फोन सम्पर्कको सुविधा नहुँदा निर्वाचनमा खटिएका कर्मचारी र मतदाता सम्पर्कविहीन भएका छन् ।

पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, जाङ, खारावाङ, कोल र राङ्सी तथा सिस्ने गाउँपालिका अन्तर्गतको सिस्ने मतदान केन्द्र सम्पर्कविहीन भएका छन् ।

रुकुम (पूर्व) का मुख्य निर्वाचन अधिकृत दुर्गा भुसालका अनुसार फोन सेवा नभएपछि प्रहरीको सेटबाट मतदान केन्द्रसँग जानकारी आदानप्रदान हुने गरेको बताए ।

यी मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पुगिसकेको तथा मतदाता परिचय-पत्र वितरणको काम र बुथ निर्माणको कामसमेत सम्पन्न भएको जनाइएको छ ।


मनिषा केसी