रुकुम पूर्वका विद्यालय तीन हप्तादेखि बन्द

  ०७५ वैशाख २५ गते

शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न जान थालेपछि रुकुम पूर्वमा रहेका विद्यालय तीन हप्तादेखि बन्द भएका छन् । बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक समेत हिमाली पाटनतर्फवैशाखको पहिलो हप्तादेखि जान थालेपछि विद्यालय बन्द भएका हुन् ।

पठनपाठन बन्द भएका विद्यालयहरूमा रुकुम पूर्वका पुथा उत्तरगङ्गा गाउँपालिकास्थित सिद्ध मण्डली मावि, सानोभेरी आधारभूत विद्यालय, सिस्ने गाउँपालिकास्थित श्री हिमालय मावि पाखापानी र सिस्ने पोखरी निमावि र भूमे गाउँपालिकाका विद्यालयसमेत करिब १२ ओटा माध्यमिक विद्यालय र उक्त गाउँपालिकाका अन्य आधारभूत विद्यालय बन्द भएका छन् ।

यहाँको प्रमुख आय स्रोत मानिने यार्सा टिप्न बालबालिकादेखि पाको उमेरका नागरिकसम्म पाटनतर्फजाने हुँदा यार्सा टिप्ने मौसममा यस क्षेत्रका अधिकांश विद्यालय बन्द हुने गर्दछन् ।

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । वैशाखको पहिलो हप्तादेखि बन्द भएको विद्यालयले वर्षे विदा पनि गर्ने हुँदा त्यस विद्यालयमा पढने विद्यार्थीको पठनपाठन प्रभावित हुने अविभावकहरूले बताएका छन् ।

वैशाख अन्तिमदेखि विदा हुने विद्यालयमा भने यो विदालाई विद्यालयहरूले वर्षे विदासँग मिलाउने हुँदा विद्यार्थीको पठनपाठनमा समस्या नहुने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले बताए । जेठको अन्तिम हप्तासम्म विद्यालय बन्द हुने जानकारी आफूहरूलाई आएको उनको भनाई छ ।

विद्यालय बन्दका बारेमा केही जानकारी नआएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कर्णबहादुर कुँवरले बताए । अन्य विदासँग नमिलाएर यसरी आफू खुशी विद्यालय बन्द गरेको भए शिक्षा कार्यालयले कारबाही गर्ने उनको भनाई छ ।

अहिलेको विदा पछिको वर्षे विदामा मिलान गर्ने भनिएपनि वर्षातको समयमा अत्याधिक वर्षातका कारण बाढी पहिरोको जोखिम बढ्ने हुँदा अघिल्ला वर्षमा पनि धेरै समय विद्यालय बन्द हुने गरेका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको अभिभावक सुमन बुढाको गुनासो छ ।

विद्यालय निरीक्षक तिलक गौतमका अनुसार गत वर्ष १ सय ९२ दिन विद्यालयमा पठनपाठन हुनुपर्नेमा १ सय ३२ दिन मात्र पढाई भएको थियो ।

यस वर्ष पनि गत वर्ष जस्तै वर्षातको समयमा विद्यालय सञ्चलन नहुने समस्या आउन सक्ने अभिभावक सुमन बुढाले बताए ।

विद्यालय निरीक्षक तिलक गौतमका अनुसार यस वर्ष सार्वजनिक विदा बाहेकका २ सय २० दिन पठनपाठन हुनु पर्नेमा यार्सा समयको विदा कटाउँदा १ सय ६० दिन मात्र पठनपाठन हुने देखिन्छ ।


मनिषा केसी