रुकुम पुर्वमा कारागार नहुँदा समस्या, भवनका लागि जग्गासमेत पाइएन

  ०७५ कात्तिक २९ गते

नयाँ स्थापित जिल्ला रूकुम पुर्वमा कारागार नहुँदा समस्या भएको छ । रूकुम पुर्व जिल्लाबाट अदालत तथा अर्ध न्यायिक निकायले कारागार चलान गरेका कैदीबन्दिहरूलाई रूकुम पश्चिम स्थित कारागारमा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ ।

साविकको रूकुम जिल्ला राज्य पुनः संरचनाको क्रमका रूकुम पुर्व र पश्चिम दुई जिल्लामा विभाजन भएपछि २०७४ को असोजमा नयाँ जिल्ला रूकुम पुर्वको रूकुमकोटमा सदरमुकामको स्थापना भएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयहरू स्थापना भएको एक वर्ष बढी भइसक्दा पनि कारागारको स्थापना नहुँदा सामस्या भएको हो ।

जिल्लामा कारागार नहुँदा रूकुमकोट अदालतबाट रूकुम पश्चिममा रहेको कारागारमा कैदीबन्दी ल्याउन र लैजान समस्या भएको प्रहरीले जनाएको छ ।

भौगोलिक विकटता, जिर्ण बाटो, समयको अभावलगायतका कारण प्रहरीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका इन्स्पेक्टर रमेश विष्टले बताए ।

कारागार नहुँदा समस्या भएको र निर्माणका लागि बजेट विनियोजन भएपनि जग्गा व्यवस्थापन नहुँदा थप समस्या रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।


प्रचण्ड मल्ल