राहत वडा कार्यालयमा थन्किदा, बाढी प्रभावित राहत विहिन

  ०७७ भदाै २३ गते

बागलुङको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राति आएको बाढीले त्यो क्षेत्रका ५ सय १८ जना विस्थापित बनेका छन् । बाढीका कारण हाल सम्म १७ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै वेपत्ता छन् ।

ढोरपाटनमा बाढीले पुर्याएको जनधनको क्षतीको स्थलगत अनुगमनको लागि नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हेलिकप्टरमा राहत सामग्री सहित बाढीग्रस्त क्षेत्र पुग्नुभएको थियो ।

गृहमन्त्री र मुख्यमन्त्रीले हेलिकप्टर मार्फत वितरणका लागि लगेको त्रिपाल, भाँडा कुडा र म्याट्रेस भने ढोरपाटन नगरपालिका–९ को वडा कार्यालयमा थन्किएको छ ।

ढोरपाटनमा बाढीले ठुलो मात्रमा क्षती पुर्याएको समाचार प्राप्त भएपछि बाढी पीडितका लागि भनेर देश र विदेशबाट पनि राहात जुटे पनि सङ्कलित राहत सामग्री भने ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङमा थन्किएको छ ।

बाढीका कारण ८० ओटा घर पूर्ण र ७१ घरमा आंशिक क्षति बनाएको छ । हालसम्म बाढी प्रभावितको लागि भनेर दर्जनौ सघं संस्थाले नगरपालिकाको केन्द्र बुर्तिबाङमा राहत पुर्याएका छन् ।

१८ गते देखि सङकलन हुन थालेको राहत जिन्सी बाढी प्रभावित क्षेत्रसँग सडक सम्पर्क विच्छेद भएकाले पीडित समक्ष पु¥याउन नसकिएको ढोरपाटन नगरपालिकाका नगर–उपप्रमुख करमती पुनले बताउनुभयो ।

घर परिवारका सदस्य सहित बाढीले घर बगाएको हप्तौ बित्दा समेत शरिरको एकसरो लुगा फेर्न नपाएको स्थानीय तुलबहादुर विकले बताउनुभयो । ‘बाढीले छोरा, बुहारी, छोरी र नाती सहित चार जनालाई बगायो, अहिले सम्म छोराको मात्र शव भेट्टिएको छ,’– विकले भन्नुभयो– ‘काज किरियाको कुरा त पर भयो अहिले सम्म शरिरको लुगा फेर्न पनि पाइएको छैन ।

तथ्याङक सङकलनको काम चलिरहेकाले ढोरपाटन नगरपालिकाको तर्फबाट वडा कार्यालय मार्फत मात्र राहत सामाग्री वितरण गरिएको नगर–उपप्रमुख पुनको भनाइ छ । ‘पहिलो चरणमा नगरपालिकाको तर्फबाट बाढी प्रभावितलाई चामल, दाल र तेल वितरण गरेका थियौ ।,’– उहाँले भन्नुभयो– ‘सडक र सञ्चार सम्पर्क समेत विच्छेद भएकाले प्रभावित क्षेत्रमा राहत सहित पुग्न समस्या छ ।, उहाँहरुलाई यहाँ आउन समस्या, तेसैले अन्य राहत सामग्री क्रमशः वितरण गर्दै जान्छौ ।’

‘अहिले पनि बाढी प्रभावित क्षेत्रमा पुग्ने सडक खुलाउने काम भइरहेको छ, –पुनले भन्नुभयो ‘अझै कहि दिनमा सडक खुलाउन नसके खच्चडमार्फत राहत लैजाने सोचिरहेका छौ ।’

बाढी प्रभावित क्षेत्र भौगोलिक रुपमा पनि विकट रहेको र  मोबाइल सम्पर्कमा समेत समस्या भएकाले समन्वयमा पनि वडा कार्यालयलाई समस्या भएको वडा नम्बर ९ का वडा अध्यक्ष हरीबहादुर घर्तीले बताउनुभयो ।

‘बाढीबाट प्रभावितहरु अहिले पनि आफ्न्तको शव पहिचान र दाहसंस्कारमा व्यस्त हुनुहुन्छ ।,’ –वडा अध्यक्ष पुनले भन्नुभयो– ‘एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने सहमती भएकाले नगरपालिकाको राहत सामग्री आएपछि वितरण गरिने छ ।

photo20200908Baglung

 

 


सिर्जना पन्त