राहतमा अनियमितता भएको भन्दै तालाबन्दी

  ०७७ जेठ ३ गते

बोदे बर्साइन नगरपालिका–१ को वडा कार्यालयमा जेठ २ गते वडावासीले तालाबन्दी गरेका छन् । राहत वितरणमा अनियमितता गरेर आफन्त र समर्थकलाई घरमै बोलाई राहत बाँडेको भन्दै असन्तुष्ठ वडावासीले वडा अध्यक्ष धीरेन्द्र यादवको कार्यकक्षमा तालाबन्दी गरेर वडा कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्ष यादवले आफूखुशी राहत बाँडेको भन्दै सियाराम साहले २ सय ५० जनालाई राहत बाँडेपछि बाँकी रहेको १ सय ५० राहतको पोका रातको समयमा आसेपासेलाई बाँडेको थाहा पाएका गरिब, विपन्नले विरोध प्रदर्शन गरेको बताउनु भयो । वडा अध्यक्ष यादवले धनगढीमा रातको समयमा आफन्त र समर्थकहरूलाई राहत वितरण गरेपछि आक्रोसित स्थानीयवासीले वडा कार्यालय घेराउ गरेर तालाबन्दी गरेको स्थानीय शक्ति यादवले बताउनु भयो । उनीहरूले सबै दलका प्रतिनिधिको सहमतिमा गरिब, विपन्नहरूले तालाबन्दी गरेको स्थानीयवासीको भनाइ छ ।

वडा अध्यक्ष यादवले १ हजार २ सय ६५ घर सङ्ख्या रहेको वडा नं. १ का लागि ४ सय जनालाई राहत आएकाले नपाउनेहरूले विरोध गरेको बताउनु भयो । उहाँले २ सय ७० जना दलित, ५० जना अपाङ्ग र ३० जना एकल महिलालाई राहत बाँडेपछि ५० ओटा राहतको पोका आफूले बाँकी राखेको बताउनु भयो । राहत पाउन छुटेका गरिबहरू घरमै आएर दुःख देखाए पछि भोकै बसेका विपन्नहरूलाई राहत दिएर पठाएकोमा विरोधीहरूले भ्रम फैलाएर तालाबन्दी गर्न लगाएको बताउनु भयो ।

वडा कार्यालयका अनुसार राहतका लागि १ हजार ४ सय जनाले फारम भरेका थिए । वडा अध्यक्षले वितरण गर्न बाँकी रहेको ५० ओटा राहत सामग्री घरमै राखेर आफूखुशी वितरण गरेको थाहा पाएपछि गाउँलेहरू राहत लिन ओइरिएका थिए । त्यसपछि राहत वितरण बन्द गरेका वडा अध्यक्ष यादवले राहत लिन एक्ला–एक्लै उहाँको घर पुगेका व्यक्तिलाई राहत वितरण गर्नु भएको थियो ।


मनोहरकुमार पोखरेल