राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १,बाट नौ जनाको उम्मेदवारी दर्ता

   ०७६ पुस २१

माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश १,बाट नौ जना उम्मेदवारले मनोयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभाका लागि प्रदेश १,बाट प्रतिनिधित्व हुने दलित एक, महिला एक र अन्य एक पदका लागि पुस २० गते प्रदेश १,को निर्वाचन अधिकृतको कार्यालयमा नौ जना उम्मेदवारले मनोनयन दर्ता गराएको सो कार्यालयले जनाएको छ ।

तीन दलबाट तीन–तीन जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ नेकपा, नेपाली कांग्रेस र समाजवादी पाटीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीले इटहरी उपमहानगरपालिका–१ की ६४ वर्षीया इन्दु गौतमलाई महिलातर्फबाट उम्मेदवार बनाएको छ । सुन्दरहरैँचा–८ निवासी ४५ वर्षीय गोपीबहादुर सार्की अछामीलाई दलितका तर्फबाट उम्मेदवार बनाएको छ । नेकपाले अन्य तर्फका लागि झापा दमक नगरपालिका–५का ६१ वर्षीय देवेन्द्र दहाललाई उम्मेदवार बनाएको  छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिका–१ की ६५ वर्षीया मीनापुलामी मगरलाई महिला उम्मेदवार बनाएको छ । दलिततर्फका लागि नेपाली कांग्रेसले पाँचथरका नीरबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले अन्यमा झापा भद्रपुर नगरपालिका–८ का ५८ वर्षीय राजेन्द्रकुमार घिमिरेलाई उम्मेदवार बनाएको छ ।

समाजवादी पार्टीले महिलातर्फ विराटनगरकी ३९ वर्षीया सदीना खातुनलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीले ज्ञानकुमार परियारलाई उम्मेदवार बनाएको छ ।

समाजवादीले अन्यतर्फ विराटनगर महानगरपालिका–४ का भरतकुमार दाहाललाई उम्मेदवार बनाएको छ । मनोनयन दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नु पर्ने नियम आयोगले बनाएको थियो ।

१४ जिल्ला रहेको प्रदेश १ मा ९३ जना प्रदेश सांसद र १ सय ३७ स्थानीय तह छन् । स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ७४ जना छन् । यसअघि निर्वाचित राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ ।

निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सांसद मतदाता हुने व्यवस्था छ । प्रदेश १ मा ३ सय ६७ मतदाता छन् । प्रदेश र स्थानीय गरेर कूल मतभार भने ९ हजार ३ सय ९६ छ ।

 

 


नेत्र पी अधिकारी