मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन

  ०७६ मङसिर २३ गते

बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगन्जलगायतका मानव अधिकारकर्मीहरुको समूहले मङ्सिर २३ गते घटनास्थलको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा प्रहरीले न्युनतम बलको प्रयोग गरेको भनिएता पनि सिद्धान्त विपरीत बल प्रयोग गरेको पाइएको अधिकारकर्मीहरुले बताएका छन् ।

घटनामा प्रहरीले रबरको गोली फायर गरेको दावी गरेपनि अनुगमनका क्रममा रबरका गोली नभएको पाइएको अधिकारकर्मीहरुले बताएका हुन् ।

प्रत्यक्षदर्शी त्रिभुवन नमुना माविका शिक्षक कोहलपुर नगरपालिका–१० बस्ने ५१ वर्षीय पदम काफ्लेका अनुसार घाइते बालिका प्रकृति चन्दलाई विद्यालय पुर्‍याउन ९ः४५ मा बाबु विद्यालय आउनुभएको थियो ।

बालिकालाई १ नम्बर प्रहरी विट नजिक छाडेर फर्कन लाग्दा बालिकालाई ट्रकको अगाडिको पाङग्राले ठक्कर दिएपछि बालिका सडकमा पछारिन पुगेको पनि काफ्लेले बताउनुभएको छ । बालिकालाई ट्रकको  पछाडिको पाङ्ग्राले ब्याक गरेर  कुल्चेर घाइते बनाएको उहाँको आरोप छ ।

उहाँले बालिकालाई ट्रकले ठक्कर दिएपछि विद्यार्थीहरु आक्रोशित भएर ट्रकमा ढुङ्गामुडा गरेको बताउनुभयो ।

ढुङगामुडा गर्ने क्रममा त्रिभुवन नमुना माविका शिक्षक इन्द्र विसी लगायत दुई जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

उहाँले त्रिभुवन नमुना माविकै शिक्षक ऋषिराज शर्मालाई सादा पोसाकमा आएका एकजना प्रहरीले तान्न खोजेपछि विद्यार्थीहरु झन् आक्रोशित भएर सडकमा उत्रिएको बताउनुभयो । उहाँले घटनामा २५ जना विद्यार्थी घाइते भएको बताउनुभयो ।

त्यसैगरी अर्का प्रत्यक्षदर्शी कोहलपुर नगरपालिका–१० बस्ने ४४ वर्षीया सिता कँडेलले विद्यार्थीहरुले ट्रकमा ढुङ्गामुडा गर्दा डिएसपी हेमबहादुर शाहीले गोली चलाउन आदेश दिएको बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोहलुरको घटनालाई लिएर अबका दिनमा शान्ति कायम गर्न प्रहरी, प्रशासन, राजनीतिक दल, नागरिक समाज, शिक्षक, विद्यार्थीलगायत सर्वपक्षीय पहल गर्ने बताउनुभयो । र, घाइतेलाई उपचार तथा क्षतिपुर्तिलगायतका विषयमा पहल गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी विरबहादुरले प्रहरीले गोली फायरिङ गरेको विषयमा छानविन गर्न समिति गठन गर्ने जानकारी दिनुभयो ।

अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख चन्द्रकान्त चापागाई, इन्सेक प्रदेश ५ का संयोजक भोला महत, सिविन नेपाल नेपालगन्जका सिद्घराज पनेरु, फियान नेपालका सुरेश गौतम, एडभोकेसी फोरमका बसन्त गौतम, मानव अधिकार एलाइन्सका प्रभात ठकुरी, हिमराइट्सका प्रकाश उपाध्याय, थर्ड एलाइन्सका आलम खान र नेपालगन्ज उच्च अदालत बार एशोसिएशनका विकास आचार्यलगाएतको सहभागिता थियो ।

त्यसैगरी मानव अधिकारकर्मीहरुले घटनाको विषयलाई लिएर आपत्ति जनाउँदै मङ्सिर २३ गते प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा अनुगमनमा प्राप्त तथ्यहरु सहित मानव अधिकारकर्मीहरुले घटनाको सम्बन्धमा छानविन समिति गठन गरी सत्य तथ्य पत्ता लगाउन, सवारि दुर्घटनामा गम्भीर घाइते भएकी छात्रा प्रकृति चन्दलगायत आन्दोलनका क्रममा घाइते भएका सबैलाई उपचारको लागि सरकार समक्ष अनुरोध गरिएको छ ।

जारी विज्ञप्तिमा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै गम्भीर घाइते भएकी छात्रा प्रकृति चन्दलाई उच्च शिक्षासम्मको व्यवस्था मिलाउन अपिल गरिएको छ ।

press release1 press release2


स्मृति देवकोटा