रामेछापका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव

  ०७४ पुस ३ गते

रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका औषधिहरूको अभाव भएको छ । जिल्लामा समयमा नै औषधि खरिद नहुँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधिहरूको अभाव भएको हो ।

Photo20171218Ramechhap

यसअघि जिल्ला स्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयले खरिद गरी स्वास्थ्य संस्थाहरूमा पुर्‍याउने औषधिहरू यस आर्थिक वर्षबाट स्थानीय तहले नै खरिद गरी स्वास्थ्य संस्थामार्फत वितरण गर्ने नीति बनेको छ ।

स्थानीय तहलाई मन्त्रालयबाट ढिलो गरी जानकारी आएको कारण कतिपय गाउँपालिका तथा नगरापलिकाले स्वास्थ क्षेत्रको बजेट समेत विनियोजन गर्न भ्याएनन् । रकम विनियोजन गरेका स्थानीय तहले पनि औषधि खरिद गर्ने प्रक्रियामा ढिलाई हुँदा जिल्लाका अधिकाँश स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा उपाचारमा आएका बिरामीहरूलाई सामान्य औषधि पनि दिन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र गेलुका डा. राजेन्द्र भण्डारीले बताए । साधारण रूघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको उनले बताए । 'बिरामीहरू औषधि खोज्छन् । दिन सकिएको छैन । उनीहरूलाई सम्झाएर पठाउनै गाह्रो भयो ।'-उनले भने ।

गेलुमा मात्र हैन जिल्ला भरिकै स्वास्थ्य संस्थाहरूमा सरकारले निःशुल्क उपलब्ध गराउने भनिएका औषधिहरू रामेछापमा उपलब्ध छैन । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य चौकीमा ३५ किसिमका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको छ ।

यसैबीच अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समेत आबद्ध रहेको मानव अधिकार संरक्षण सञ्जाल रामेछापले पुस ३ गते एक विज्ञप्ति जारी गरी रामेछापमा औषधिको अभाव भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्जालका संयोजक पाण्डव प्रसाइँले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा नागरिकको स्वास्थ्य सेवा पाउने आधारभूत अधिकारप्रति सरोकारवाला निकायलाई गम्भीर हुन ध्यानाकर्षण गराइएको छ ।


नवराज पथिक