राज्यले उपेक्षा गरेको द्वन्द्व पीडितहरूको गुनासो

  ०७६ चैत ४ गते

सप्तरीका द्वन्द्व पीडितहरूले राज्यले अहिलेसम्म समस्या समाधानको साटो उपेक्षा गरेको गुनासो गरेका छन् । राजविराजमा चैत २ गते ‘युवा आवाजका साथी’ ले आयोजना गरेको ‘सशस्त्र द्वन्द्वकालिन महिला हिंसा र न्यायको सवाल’ विषयक परामर्श बैठकमा सहभागि द्वन्द्वपीडित परिवार तथा सरोकारवालाहरूले सो गुनासो गरेका हुन् ।

photo20200317saptari

कार्यक्रममा द्वन्द्व पीडित अरुण साहले राज्यले सहीदहरूको वर्गीकरण गरी सेवा, सुविधा छुट्याएर विभेद  र अपमान गरेको बताउनु भयो । प्रदेश सरकारले मधेस आन्दोलनका सहीदहरूलाई सुविधा दिने तर सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका र घाइते भएकालाई सेवा, सुविधा उपलब्ध नगराएर विभेद गरेको उहाँको आरोप थियो । पुरानो घटना स्मरण गराएर पटक–पटक घाउ नकोट्याउन र मन नदुखाउन उहाँले आयोजकलाई आग्रह गर्नु भयो ।

द्वन्द्वपीडित कविता ठाकुरले अभिभावक गुमाउँदा घरपरिवारकै विचल्ली भएको तर राज्य पक्षबाट सोधखोज हुन छोडेको सुनाउनु भयो । सहीद परिवारका राजेशकुमार रामले सहीदकै बलमा व्यवस्था परिवर्तन भई सत्तामा पुगेकाहरू सत्तामोहमा फसेर सहीदलाई बिर्सिएको आरोप लगाउनु भयो ।

‘युवा आवाजका साथी’ की अध्यक्ष यमुना खनालले विभिन्न सीप र आयमुलक कार्यक्रम सञ्चालनमा ल्याइ द्वन्द्वपीडित परिवारको जीवनस्तरमा सुधार ल्याउन सहयोग गरिने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा जिल्ला बार एकाई सप्तरीका अध्यक्ष डोमन साह, नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादव, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, अधिकारकर्मी जंगबहादुर सिंह लगायतले द्वन्द्व पीडीत परिवारको अवस्थाबारे सोधखोज गरी उनीहरूका लागि राज्यले सहयोग गर्नुपर्ने सुझाव दिए ।


मनोहरकुमार पोखरेल