राज्यमन्त्रीद्वारा आचारसंहिता उल्लङ्घन गरेको आरोप

  ०७४ भदौ २३ गते

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा एमाले सप्तरीले आरोप लगाएको छ ।

एमाले जिल्ला सचिव शम्भु यादवले भदौ २३ गते प्रेस विज्ञप्ति जारी गरी राज्यमन्त्री चौधरीले निर्वाचनलाई प्रभावित पार्ने उद्धेश्यले सुरुङ्गा नगरपालिकामा भदौ २२ गते रकम बाँडेको आरोप लगाएका छन् ।

सुरुङ्गा नपा-३ स्थित महुलिया गाउँमा रहेको दिनाभद्रि मन्दिरका लागि १ लाख रुपियाँ र सहलेश मन्दिरका लागि १ लाख ५० हजार रुपियाँ बाँडेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै एमालेले निर्वाचन आयोगसमक्ष कारबाहीको माग गरेको छ ।

राज्यमन्त्री चौधरीले बाँडेको उक्त रकमबाट खरिद गरिएको इँटालगायतका निर्माण सामग्री मन्दिर परिसरमा रहेको एमाले जिल्ला सचिव यादवले दावी गरेका छन् ।


मनोहरकुमार पोखरेल