राजनीतिक नेताको विवाह भोज विद्यालयमा, पठनपाठन बन्द

  ०७६ जेठ २९ गते

गौशाला नगरपालिका-१ स्थित श्री माध्यमिक विद्यालय निगौँल जेठ २८ गते देखि बन्द गराइएको छ । सङ्घीय समाजवादी पार्टीका केन्द्रीय नेता लक्ष्मी महतोको भतिजको विहेको भोज भतेरको लागि जेठ २८ गते देखि बन्द रहेको विद्यालय आज दोश्रो दिन पनि बन्द रहेको छ ।

विद्यालयमा जेठ २८ गते दिनभर भोज भतेर चल्यो । विद्यालय हाता भित्रै परिकारहरू पकाउनेदेखि खुवाउने काम समेत गरियो । पढाइ भएन र आज पनि विद्यालय बन्द रहेको छ ।

Photo20190612Mahottari

स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले नै निर्णय गरेर विद्यार्थीलाई छुट्टी दिएको बताइएको छ । पढाइ रोकेर आयोजना गरिएको भोजमा स्थानीय जनप्रतिनिधि र नेताहरू सामेल भएका थिए । गन्नेमान्ने निम्तालुले बालबालिका बसेर पढ्ने डेक्स-बेन्चमा भोज खाएको दृश्य रमिता लाग्दो देखिन्थ्यो ।

ठूला व्यक्तिको बिहेमा बराती राख्न र विवाह भोज खुवाउन पहिलेदखि नै स्कुल बन्द गराउँदै आएको व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन रामले बताए ।

'व्यवस्थान समितिले नै विद्यालयको जग्गा दातालाई आवश्यक परेमा विवाह र व्रतबन्ध गर्न एक दिन स्कुल बन्द गर्न पाइन्छ भन्ने निर्णय गरेको छ । त्यही अनुरूप जेठ २८ गते मङ्गलबार विद्यालय बन्द गरेर विवाह भोज भयो ।'-उनले भने ।

लक्ष्मी महतो, नरेश सिंह, कपलेश्वर सिंह, शलाम शेकले विद्यालयलाई जग्गा दिएको उनले बताए । कक्षाकोठा र कम्पाउण्डमा साँझसम्म भोज खानेको आउजाउ चलिरहृयो । र, आज कक्षाकोठा र बालबालिका बसेर पढ्ने डेक्स र बेन्च भोजको जुठोले फोहर भएकोले आज पनि विद्यालयको पठनपाठन ठप्प रहेको छ ।

अहिले विद्यालयको हाताको दृष्य हेर्दा चापाकलमा पानी खाएर प्लाष्टिकका गिलासहरू चारैतिर फ्याँकिएको देखिन्छ ।

स्कुलमा नेता लक्ष्मी महतोले भतिज सचिनको विवाहको प्रीतिभोज गरेका हुन् । भोजमा नेता, कार्यकर्ता, गाउँले, प्रहरी, प्रशासन सबै आमन्त्रित थिए । भान्से भरत साहले बिहानैदेखि स्कुलमा भोज पकाउन सुरू गरेको बताए ।

गौशालाका स्थानीय वीरेन्द्रकुमार साहका अनुसार स्कुलमा पहिलादेखि नै भोजभतेर गर्ने, खुवाउने र बरातीलाई सुताउने काम हुँदै आएको छ । उनले भने-'अब सुधार गर्नुपर्छ । विद्यालयलाई विद्यार्थी पढाउन प्रयोग गर्नुपर्छ ।'

'स्कुलमा विवाह भोज गर्नु ठिक होइन । बिहानको पढाइ भएर दिउँसो भोज गरेको सोचेको थिएँ ।'-गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले भनिन् ।

विवाह भोजका नाममा स्कुल बन्द गराएर बालबालिकालाई पढ्नबाट वञ्चित गर्न पाइन्छ ? भन्ने प्रश्नमा उनले भनिन्-'त्यो प्रश्न नेता लक्ष्मी महतोलाई नै सोध्नुस् ।'

गाउँमा सार्वजनिक ठाउँ अभाव भएकाले स्कुलमा भोज आयोजना गर्नुपरेको नेता महतोले बताए । 'गाउँको भोज गर्ने कुनै ठाउँ छैन । बाध्यताबस स्कुलमा भोज गर्नुपर्‍यो ।'-उनले भने ।

विद्यालयको पठनपाठन बन्द गराई भोज भतेर गर्नु सरासर गलत भएको मानव अधिकार रक्षक सञ्जाल महोत्तरीका सचिव रञ्जन भण्डारीले बताए ।

उनले यस्ता गतिविधि गर्ने र गराउनेलाई उचित कारवाही गर्न सम्बन्धित निकायले कदम चाल्नु पर्ने आवश्यकता रहेको बताए ।


अजयकुमार साह