राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिताको उल्लङ्घन

  ०७४ मङ्सिर १२ गते

निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन कार्य धनकुटा बजार भन्दा पनि ग्रामीण क्षेत्रका बजारहरूमा बढी भएको पाइएको छ । गएको स्थानीय तहको निर्वाचनको तुलनामा दलहरूले निर्वाचन उल्लङ्घनका कार्य कम मात्रामा गरेपनि ग्रामीण क्षेत्रमा रहेका बजारहरूमा व्यापक रूपमा पाइएको छ ।

दलहरूले विगतका निर्वाचनमा जस्तो दल विशेषको चिन्ह अंकित टिसर्ट, टोपी लगाउने कार्य पूर्णरूपमा बन्द गरिएको छ । त्यतिमात्र हैन, बजार क्षेत्रमा पर्चा, पोष्टर पनि काम मात्रामा प्रयोग गरिएको पाइएको छ भने निर्वाचन आचारसंहिता विपरीतको साइजमा पार्टीको झण्डाहरू पनि कम मात्रामा प्रयोग गरिएको पाइएको छ ।

मौनाबुधुक बजारमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन दुवैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै सरकारी कार्यालयको भित्तामा पर्चा, पोष्टर टाँसिएको छ । स्वास्थ्य चौकी मौनाबुधुक र अतिरिक्त हुलाक कार्यालय मौनाबुधुकको भित्तामा दुवै गठबन्धनले आआफ्ना उम्मेदवार र पार्टीको चिन्ह सहितको पोष्टर टाँसेका छन् ।

मौनाबुधुक बजारमा दलहरूद्वारा भएको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्दा कार्यालयमा कुनै पनि लिखित उजुरी नआएको जनाएको छ ।

कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएमा सम्बन्धित दलहरूलाई बोलाएर पोष्टर, पम्प्लेट तत्काल हटाउन लगाउने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए ।


सन्तोष रूचाल