राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन, सरोकारवाला निकाय मौन

  ०७४ मङ्सिर ८ गते

दोश्रो चरणको मतदान हुन १३ दिन बाँकी रहँदा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेका छन् । राजनीतिक दलहरूले निर्वाचन उल्लङ्घन गर्दैनौँ भनी बनाएको आचारसंहिता उल्लङ्घन गर्दासमेत सरोकारवाला निकाय मौन छ ।

निर्वाचन आयोगद्वारा जारी अचारसंहितामा ७५ ग्रामसम्मको कागजमा ३ सय वर्ग इञ्चसम्मको आकारको एउटै रङ् र मुद्रकको नाम सहितको पर्चा बनाउन पाउने भनिएको छ । तर, दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन र आकर्षक पोष्टरहरू बनाएका छन् ।

नेपाल सङ्घीय समाजवादी फोरम नेपालका क्षेत्र नं. ३ का उम्मेदवार हरिनारायण रौनीयारले रङ्गीन पोष्टर टाँसेका छन् । रङ्गीन पोष्टर टाँस्न रोक नलागेपछि अरू उम्मेदवारले पनि पोष्टर बनाएर टाँसेको प्रतिक्रिया दिएका छन् ।

रङ्गीन पोष्टर बनाउनेहरूमा फोरम नेपालको पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादव, प्रदेश सभा सदस्य १ को "क" का जन्नत अन्सारी, क्षेत्र नं. ३ को "ख" का प्रल्हाद गिरी, वाम गठबन्धनका छोटेलाल यादव, चुनाव क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार बिचारी यादव, रहवर अन्सारी रहेका छन् ।

त्यसैगरी लाउडस्पिकरको प्रयोगमा रोक लगाएको भएपनि सबै जसो दलका उम्मेदवारहरूले चार पाङ्ग्रे सवारी साधानमा विद्युत आपूर्तिकालागि जेनरेटर राखेर गाउँगाउँमा लाउडस्पिकर बजाएर प्रचारप्रसार गरेका छन् ।

ठूला दलका उम्मेदवारहरूले जे गर्दा पनि हुने देखिएको नेपाल सङ्घीय समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले बताए । "ठूला दलले जे गर्दछन् कार्यकर्ताहरूले हाम्रो पनि त्यस्तै गर्नु पर्‍यो भन्छन्"-उनले भने-"आचारसंहिता पालना गराउने निकाय पनि निन्द्रामा भएपछि कसको के लाग्दो रहेछ ?"

निर्वाचन आचारसंहितका उल्लङघनका घटनाहरूको विषयमा जानकारी आएकोले दलका प्रतिनिधिहरूलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता युवराज अधिकारीले जानकारी दिए ।


केसी लामिछाने