राजनीतिक दलद्वारा आचारसंहिता उल्लङ्घन्, निर्वाचन अधिकारी बेखबर

  ०७४ मङ्सिर १८ गते

दोस्रो चरण अन्तर्गत मङ्सिर २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन यहाँ क्रियाशील राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरीत चोकचोकमा नाराजुलुस गर्नुका साथै गाडीमा माइकिङ गरेका छन् ।

आज राति १२ बजेदेखि मौन समय सुरू हुँदैछ । राति आठ बजेपछि प्रचारका कुनै पनि कार्यक्रम गर्न नहुने आचारसंहितामा उल्लेख छ । दलहरूले धनकुटा र हिलेबजारमा निर्वाचन आचारसंहिता विपरीत घरदैलो कार्यक्रमको नाममा चुनाव प्रचार प्रसार गरेका छन् ।

धनकुटाको हिलेबजारमा लोकतान्त्रिक गठबन्धन अन्तर्गत राप्रपा (प्रजातान्त्रिक) का कार्यकर्ताले चुनावी घरदैलो कार्यक्रम गर्ने क्रममा हिले बजारमा र्‍याली निकाल्नुको साथै गाडीमाथि माइकिङ गर्दै चुनाव प्रचारप्रसार गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनले निर्वाचन आचारसंहिता विपरीत हिले-पाख्रीवास क्षेत्रमा गाडीमाथि माइक राखेर चुनाव प्रचारप्रसार गरेको भन्दै यस अघि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटामा उजुरी परिसकेको जनाइएको छ ।

वाम गठबन्धनले मौन समयको पुर्वसन्ध्यामा आएर निर्वाचन आचार संहिता विपरीत घरदैलो कार्यक्रमको क्रममा धनकुटाको मदनचोकमा पार्टीको गीत बजाएर चुनाव प्रचारप्रसार गरेको छ । दलहरूले निर्वाचन आचारसंहिता विपरीत खुल्ला कार्यक्रम गरिरहँदा निर्वाचन आयोगले अनभिज्ञता जनाएको छ ।

दलहरूले आमसभा गर्ने, घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने अधिकार भएपनि मतदातालाई प्रभावित गर्ने खालका कुनै पनि गतिविधि सञ्चालन गर्न नपाइने जिल्ला निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए ।


सन्तोष रूचाल