राजनीतिक दलका कार्यकर्ताको दबाबमा बलात्कार घटनाका आरोपित छुटाइयो

  ०७३ साउन २३ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाको आरोपमा प्रहरी हिरासतमा रहेका सुउँ गाविस-२ का ३७ वर्षीय कालीबहादुर रोकायलाई नेपाली काङ्ग्रेस र एमाले पार्टीको स्थानीय कार्यकर्ताको दबाबमा साउन २१ गते प्रहरी हिरासतबाटै छाड्नु परेको प्रहरीले जनाएको छ ।

पहिला बलात्कार गरेको उजुरी परेपनि साउन २१ गते पीडितले आफूलाई अभद्र व्यवहार गरेको र गाली बेइज्जती गरेको भन्ने व्यहोराको निवेदन दिएपछि आरोपितलाई छाडिएको प्रहरी चौकी त्रिपुराकोटका इञ्चार्ज रोमहर्ष सिजवालले बताए ।

सिजवालका अनुसार राजनीतिक दलको दबाबमा पीडितले बलात्कार गरेको भनी पहिला दिएको निवेदन फिर्ता लिएर मिलापत्र गरेपछि आरोपित रोकाय साउन २१ गते प्रहरी चौकीबाट रिहा भएका हुन्  ।

पीडित महिलालाई साउन १३ गते कालिबहादुर रोकायले बलात्कार गरेको भन्दै पीडितले साउन १८ गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् । आरोपितलाई साउन १९ गते गिरफ्तार गरी प्रहरीले अनुसन्धान थालेको जनाएको थियो ।

नेपाली काङ्ग्रेसका गाँउ इकाई सचिव नेत्र बुढाले भने- 'दुबै पक्षबीच घटनाका विषयमा झडप भयो । घटनाले ठूलो रूप नलियोस् र सामाजिक सदभाव कायम होस् भनेर मिलापत्र गराएका हौं ।'

घटनाको विषयमा पीडित पक्ष र आरोपित पक्षबीच साउन १९ गते राति झडप हुँदा दुबै पक्षका दुई जना युवा घाइते भएका थिए ।


विष्णुप्रसाद देबकोटा