राजकुमार चेपाङको मृत्यु सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

  ०७७ भदौ ३१ गते

चितवन राष्ट्रिय निकञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको कुटपिटको कारणबाट मृत्यु भएका चितवनको राप्ती नगरपालिका२ का राजकुमार चेपाङको घटनाका सम्बन्धमा गरिएको स्थलगत अध्ययन प्रतिवेदन भदौ ३१ गते सार्वजकि गरिएको छ ।

इन्सेक, एड्भोकेसी फोरम र थर्ड एलायन्सले संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन इन्सेक बागमती प्रदेश कार्यालयका स‌ंयाेजक कृष्ण गौतम र एडभोकेसी फोरमका ओमप्रकाश सेन ठकुरीले संयुक्त रूपमा प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई हस्तान्तरण गरिएसँगै सार्वजनिक गरिएको हो ।

प्रतिवेदन ग्रहण गर्दै सभापति पोखरेलले निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले आफ्नो सीमा नाघेर यातना दिनु मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो । उहाँले यस किसिमका गैरन्यायिक घटनाहरू भविष्यमा हुन नदिन दोषीहरूमाथि कारबाही र पीडितहरूलाई क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।kathmandu120200916

इन्सेक, एडभाेकेसी फोरम र थर्ड एलायन्सलगायत संस्थामा कार्यरत अधिकारकर्मीहरूको स‌ंयुक्त टोलीले राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक मुरारी खरेललाई उक्त प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै निर्देशक खरेलले पीडितलाई न्याय र पीडकलाई कारबाहीको दायरामा ल्याउने गरी सम्बन्धीत निकायलाई आयोगले निर्देशन दिने जानकारी दिनुभयो । उहाँले गैरन्यायिक हत्यामा संलग्नहरूमाथि कडा भन्दा कडा कारबाही गरे मात्र दण्डहीनताको अन्त्य हुने बताउनुभयो ।

राप्ती नगरपालिका-२ का राजकुमार चेपाङसहित सात जना स्थानीयहरू ०७७ साउन १ गते घोगी र निगुरो टिप्न निकञ्जभित्र प्रवेश गरेको आरोपमा निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले उनीहरूलाई नियन्त्रणमा लिई कुटपिट गरेको घटनाको विषयमा तयार पारिएको सो प्रतिवेदन सरोकारवाला निकायमा हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा मृतक राजकुमारका बुवा विष्णुलाल, आमा आइतीमाया र  पत्नी रिपुमाया, सोही घटनामा सेनाबाट यातना पाएका अन्य चार जना पीडितहरूका साथै स्थानीय जनप्रतिनिधिहरू, प्रहरी, सेना, मृतकको उपचारमा संलग्न स्वास्थ्यकर्मी र अधिकारकर्मीहरूको भनाइ समेटिएको छ ।

पीडितहरूका अनुसार सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको थियो ।

साउन १ गते यातना पाएपछि घर फर्किने बेलामा नै राजकुमार हिँड्न नसक्ने भएपछि दुई जनाले सहारा दिएर घर पुर्‍याएको पीडित सन्तोष तामाङले बताउनु भयो ।

अनुगमण टोलीले सेनाकै कुटाइबाट राजकुमारको मृत्यु भएको, आर्थिक अभावले समयमै उनको उपचार हुन नसकेको र भरतपुर अस्पतालका चिकित्सकहरूले अन्य घाइते पीडितहरूको स्वास्थ्य जाँचमा लापरवाही गरेको निष्कर्ष निकालेको छ । घटनामा दोषी देखिएकाहरूलाई नियमित प्रणालीबाटै कानुनी कारबाही गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ ।

प्रतिवेदन पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

photo20200916kathmandu2

फोटो: सञ्जीवकुमार साह


विमला पौडेल