रसीमाझका बालबालिकाको बाध्यताः विद्यालय जान छोडेर पानी थाप्न लाममा

  ०७६ मङ्सिर २९ गते

नौ वर्षीया चाँदनी बुढा स्थानीय बलभद्र निम्न माध्यामिक विद्यालय, रसिमाझ गाउँमा कक्षा ६ मा पढ्नुहुन्छ ।

सातामा अरू दिन विद्यालय गएपनि चाँदनीले प्रत्येक सोमबार पानी थाप्ने लाममा बस्नुपर्छ । हप्तामा एक दिनमात्रै पानी आउने भएकाले पढाइलाई थाती राखेर भएपनि खानेपानीको लागि लाममा बस्नुपर्ने उहाँलाई बाध्यता छ ।

‘बुबाआमा काममा जाने भएपछि म पानीको लागि पालो कुर्छु । आफ्नो पालो छुट्यो भने पानी भर्न पाईँदैन । पालोमा भएभरका भाँडाकुँडा भरेपछि एक सातासम्म ढुक्कले पढ्न पाइन्छ ।’–चाँदनीले भन्नुभयो ।

सोही विद्यालयमा कक्षा सातमा अध्ययनरत् विमल बुढाको घरको पानी थप्ने पालो मङ्गलबार हो । पानी थाप्न पालो कुर्नुपर्ने भएपछि मङ्गलबार विद्यालय नजाने बिमल बताउनुहुन्छ ।

पानी अभावका कारण रसी गाउँका अधिकांश बालबालिका विद्यालय नगएर पानीको लागि लाइनमा बस्नु पर्ने बाध्यता छ ।

त्रिपुरासुन्दरी नपा–२ रसीमा रहेका माझगाउँ, डाँडागाउँ र गुम्बा गाउँमा वर्षौँदेखि खानेपानीको समस्या छ ।

गाउँ नजिकै रहेको सिमखोलीमा बग्ने सानो पानीलाई जम्मा गरेर तीन गाउँको लागि खानेपानी ल्याइए पनि पछिल्लो समय पानीको मुहान नै सुक्न थालेपछि खानेपानीको समस्या विकराल बन्दै गएको हो ।

१ सय ३० घरधुरी रहेको रसीगाउँमा पानीको समस्याले लामो समययता दुःख दिएपनि स्थायी व्यवस्थापनतर्फ कुनै पनि निकायको ध्यान जान नसकेको गुम्बा गाउँमा रहेको महाकाल आधारभुत विद्यालयका शिक्षक मनबहादुर बुढाले बताउनु भयो ।

शिक्षक बुढाले भन्नुभयो–‘विद्यालयमा पनि पानीको समस्या छ । तिर्खा लागे आधा घन्टाको पैदल हिँडेर गाउँमा पुगेर पानी खानुपर्छ ।’

रसी गाउँमा रहेका लक्ष्मी आधारभुत विद्यालय डाँडागाउँ र महाकाल आधारभुत विद्यालय, गुम्बामा पानीको व्यवस्था नभएको ति विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको गुनासो छ ।

माझ गाउँमा रहेको बलभद्र निम्न माध्यामिक विद्यालयमा खानेपानीको एउटा धारा भएपनि सिङ्गो गाउँ र विद्यालयको साझा धारो भएकाले पानीको लागि पालो कुर्नु पर्ने बाध्यता उस्तै रहेको विद्यार्थीहरू बताउँछन् ।

स्थानीय तहमा आफ्नै गाउँका प्रतिनिधि विजयी भएपनि निर्वाचन भएको दुई वर्ष बढी बितिसक्दासमेत वर्षौँदेखिको समस्या समाधानतर्फ ध्यान पुग्न नसक्दा स्थानीय निराश बनेका छन् ।

रसी माझ गाउँका अलि बुढाले दुखेसो पोख्दै भन्नुभयो–‘उपमेयर हाम्रै गाउँकी स्थानीय हुनुहुन्छ । गाउँमा आउँदा बारम्बार पानीको समस्या बताउँछौँ । उहाँ आफैले पनि सो समस्या भोग्नु भएकै हो । तर पनि खानेपानीको लागि पहल भएको देखिँदैन ।’

त्रिपुरासुन्दरी नगरपालिकाकी उपमेयर चन्द्रकुमारी बुढाले रसी गाउँमा खानेपानीको समस्या भएको बारेमा आफू जानकार रहेको र समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।

अहिले गाउँ नजिकैको सिमखोलीबाट भएको सानो पानीलाई जम्मा गरेर तीन गाउँमा एकएक धारा पुर्‍याएर पालो कुरेर भएपनि समस्या टारिरहेको र सिमखोली बाहेक अन्य खानेपानीको स्रोत पनि नभएकाले छिमेकी गाउँ रुमबाट वृहत् खानेपानी ल्याउने गरी योजना तर्जुमा गरेर बजेट माग गरिएको उपमेयर बुढाले बताउनुभयो ।

Photo20191209Dolpa01

Photo20191209Dolpa02

Photo20191209Dolpa03


विष्णुप्रसाद देवकोटा