रजिष्ट्रारमाथि दुर्व्यवहार गरेको घटनाका आरोपितविरूद्ध उजुरी

  ०७६ भदौ १३ गते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार ६६ वर्षीय रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य तथा घोराही उपमनपा–१७ का ३६ वर्षीय विवेक श्रेष्ठविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

 

प्रतिष्ठान बचाऔँ आन्दोलनका क्रममा तालाबन्दी गर्न गएका श्रेष्ठले भदौ ११ गते कार्यकक्षमै दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।

 

उजुरी दिए पनि प्रहरीले हालसम्म आरोपितलाई गिरफ्तार गरेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले खोजी भइरहेको बताए ।

 

दुर्व्यवहार तथा हातपातका कारण घाइते भएका रजिष्ट्रार प्याकुरेलको उपचार प्रतिष्ठानमै भदौ ११ गते गरिएको छ ।

 

रजिष्ट्रारमाथि हातपात भएको विरोधमा प्रतिष्ठानका कर्मचारीहरूले भदौ १२ गते हातमा कालो पट्टी बाँधेर काम गरेका थिए ।

 

प्रतिष्ठानकी उपकुलपति प्रा डा. सङ्गीता भण्डारीले भदौ ११ गते विज्ञप्तिमार्फत दुर्व्यवहार गर्नेप्रति कारवाहीको माग गरेकी छन् ।

 

आरोपित विवेक श्रेष्ठले भने तालाबन्दी गर्न लाग्दा आफूमाथि नै दुर्व्यवहार भएपछि आन्दोलनकारीहरूले रजिष्ट्रारलाई कार्यकक्षबाट निकाल्ने काम भएको बताए ।

 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भण्डारीले प्रतिष्ठानमा अनियमितता गरेको र स्वास्थ्य सेवा खस्कँदै गएको भन्दै राजीनामा माग्दै प्रतिष्ठान बचाऔँ अभियानले चरणबद्ध आन्दोलन थालेको छ ।


जे.एन.सागर