रकम निकासा नहुँदा ११ हजार विद्यार्थीले पाएनन् नयाँ पाठ्यपुस्तक

  ०७६ वैशाख २७ गते

नयाँ शैक्षिक सत्र सुरू भएको झण्डै एक महिना हुन लाग्दा समेत हरिहरपुरगढी गाउँपालिकाका विद्यालयहरूमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन ।

नयाँ शैक्षिक शत्रका लागि चैत अन्तिमसम्म सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक पुगिसक्नुपर्नेमा पाठ्यपुस्तक खरिद गर्न सम्बन्धित विद्यालयलाई रकम निकासा नदिँदा गाउँपालिकाभरका विद्यार्थीले नयाँ पुस्तक पाउन सकेका छैनन् ।

गाउँपालिकामा लेखा अधिकृत, लेखापाल र शिक्षा शाखाका अधिकृत कर्मचारी नहुँदा किताब खरिद गरेर ल्याउन नसकेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए ।

वैशाख २ गतेबाट नयाँ शैक्षिक शत्रका लागि विद्यालय खुलेका भए पनि कर्मचारी समायोजनका कारण कर्मचारी अभाव हुन गई पाठ्यपुस्तक खरिद गर्न नसकिएको उनले बताए ।

नयाँ पाठ्यपुस्तक अभावका कारण गाउँपालिकामा रहेका ५२ ओटा विद्यालयका ११ हजार भन्दा बढी विद्यार्थीहरूको पढाई प्रभावित भएको लामाले बताए ।

उक्त गाउँपालिकामा ३६ प्राथमिक विद्यालय, आठ निम्न माध्यमिक विद्यालय र आठ माध्यमिक विद्यालय गरी ५२ ओटा सामुदायिक विद्यालय रहेका छन् ।

गाउँपालिकामा एक महिनादेखि लेखा अधिकृत र शिक्षा शाखाका कुनै पनि कर्मचारी छैनन् । तत्कालीन शिक्षा कार्यालयले खटाएका श्रोत व्यक्तिहरूबाट सञ्चालन हुँदै आएको गाउँपलिकाको शिक्षा शाखा सरकारले श्रोत व्यक्तिहरूलाई फिर्ता बोलाएपछि अर्को कर्मचारी पठाउन सकेको छैन ।

गाउँपालिकामा एक महिनादेखि लेखा अधिकृत नहुँदा पाठ्य पुस्तकसँगै विद्यार्थीहरूलाई दिइने दिवा खाजाको रकम समेत भुक्तानी दिन नसकेकोले प्रदेश तथा सङ्घीय सरकारसँग कर्मचारी माग गरिए पनि अहिलेसम्म यसको सुनुवाइ नभएको लामाले बताए ।


बिमला पाण्डे