‘यौन हिंसा’बाट जन्मिएको काखे छोराका लागि न्यायको माग

  ०७५ असोज १३ गते

३५ वर्षीया महिलालाई सुरुङ्गा नपा–१ मधुपट्टीका ३५ वर्षीय ओमप्रकाश यादवले गरेको यौन हिँसाबाट जन्मेको शिशुका लागि न्यायको माग गर्दै पीडित पक्षले असोज १३ गते माग गरेकी छिन् ।

जनचेतना दलित सङ्गमको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पीडित महिलाले न्यायका लागि सरोकारवाला सबैसँग सहयोगको अपिल गरेकी हुन् ।

काखमा रहेको तीन महिनाको छोरा आरोपित यादवकै शारीरिक सम्बन्धबाट जन्मेको दावी गर्दै दैनिक न्यायिक समिति, प्रहरी कार्यालय, विभिन्न सङ्घ–संस्थामा पुगेर न्यायका लागि गुहार गरे पनि न्याय पाउन नसकेको पीडितले बताइन् ।

दुई वर्षअघि पतिको मृत्युपछि चार सन्तानको भरणपोषणका लागि भाँडा माझ्ने र खेतीबारीको काम गर्दै आएकी पीडित महिलालाई आरोपितले धम्की दिएर यौन सम्पर्क गरेपछि गर्भ रहेको पीडित पक्षको आरोप छ ।

पीडित महिला गर्भवती भएपछि आरोपितले विवाह गर्ने आश्वासन दिएपनि यादवले ‘दलित’ भएकैले स्वीकार गर्न नमानेको पीडित पक्षको आरोप छ ।

गाउँमा बसेको पञ्चायतीमा यादवले गल्ती स्वीकार्दै विवाह गर्ने प्रतिबद्धता जनाए पनि अहिले बोली फेरेको पीडित महिलाको आरोप छ ।

प्रमाणका रूपमा सन्तान रहेको भन्दै पीडितले आफू डिएनए परीक्षणका लागि तयार रहेको बताइन् । आफ्ना पाँच सन्तानलाई दुई छाक खुवाउन बिहानैदेखि मजदुरीमा जुट्नु पर्ने बाध्यता सुनाउँदै उनले न्यायका लागि लामो समयसम्म प्रहरी, न्यायिक समिति र विभिन्न संस्थामा भौँतारिनु पर्दा समस्यामा परेको बताइन ।

इलाका प्रहरी कार्यालय कडरवोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले आरोपितलाई गिरफ्तार गरी एक रात थुनामा राखेर सोधपुछ गर्दा आरोप नस्वीकारेकाले प्रमाणको अभावमा छाड्नु परेको बताए ।

अहिले बच्चा जन्मिसकेकाले डिएनए परीक्षण गरेर वास्तविकता पत्ता लगाई न्याय दिलाउन सकिने इन्स्पेक्टर श्रेष्ठले बताए ।


मनोहरकुमार पोखरेल