यौन दुव्यर्वहारको उजुरी नलिएपछि ठाडो निवेदन दिन बाध्य

  ०७६ मङ्सिर २१ गते

१५ वर्षीया बालिकामाथि भएको यौन दुर्व्यवहारको लिखित उजुरी जिल्ला प्रहरी कार्यालयले लिन नमिल्ने बताएपछि बाध्य भई मङ्सिर २० गते ठाडो निवेदन दिनु परेको पीडित र उनका परिवारले बताएका छन् ।

 

पीडितसहित पुगेकी उनकी ३५ वर्षीया आमा र ३९ वर्षीय मामाले लिखित उजुरी लिन प्रहरीले नमाने पछि घाउँजाँच स्वास्थ्य परीक्षण गराउन ठाडो उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

 

पीडितकी आमाका अनुसार मुद्दा शाखाका इन्स्पेक्टर सन्तोष खडकाले उजुरी दिन जिल्ला प्रहरी कार्यालय परिसरमै रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र पठाउनु भयो ।

 

सेवा केन्द्रका इन्स्पेक्टर प्रकाश बस्नेतले लिखित उजुरी लिन नमिल्ने तर ठाडो उजुरी दिए घाउँजाँच परीक्षण गर्न अस्पताल पठाउने अन्यथा लिखित उजुरी मुद्दा शाखामै दिनु भनेको र मुद्दा शाखाका इन्स्पेक्टर खडकाले सेवा केन्द्रले नै अनुसन्धान गर्ने अडान राखेपछि प्रमाण सुरक्षित पार्न घाउँजाँच परीक्षणकै लागि ठाडो उजुरी दिएर फर्किएको पीडितकी आमाले बताउनु भयो ।

 

यसैगरी उजुरी दिन पीडित बालिकाका साथ आमा र मामा नभई पीडितका बुबा नै आउनु पर्ने इन्स्पेक्टर बस्नेतले बताउनु भयो ।

 

ट्युशन पढी घर फर्किरहेका बेला मङ्सिर १९ गते साँझ राजविराज नपा– ७ स्थित खर्साल टोलमा मादक पदार्थ सेवन गरेका करिब ३५ वर्षीय युवकले जबरजस्ती तानेर एकान्तमा लगी यौन दुर्व्यवहार गरेको पीडितले बताउनु भयो ।

 

जबरजस्ती एकान्तमा लैजान खोज्दा प्रतिकार गरेपछि कुटपिट गरी भुईमा लडाई आरोपितले यौन दुर्व्यवहार गर्दै छातीमा टोकेको र उसैबेला छेउको घरको बालिका जोडले रोएपछि आरोपित फरार भएको उहाँले बताउनु भयो । पीडित बालिकाको छातिमा टोकेको दाँतको निशान रहेको इन्स्पेक्टर बस्नेतले बताउनु भयो ।

 

पीडित परिवारले निवेदनका साथ शंकास्पद व्यक्तिको फोटो, हुलिया र मोबाइल नम्बर दिई पहिचान गर्न माग गरेको छ । पीडितले अपरिचित आरोपितलाई प्रत्यक्ष देखेमा पहिचान गर्ने बताउनु भयो ।


मनोहरकुमार पोखरेल