यौन दुर्व्यवहार घटनामा दोषी ठहर गर्दै साँढे सात वर्षकैदको फैसला

  ०७३ कात्तिक २५ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहरमा १५ वर्षीय एक बालकलाई जिल्ला अदालतले सात वर्ष ६ महिना बाल सुधारगृहमा राख्न र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासबाट कात्तिक २५ गते उक्त फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार रमेश श्रेष्ठले बताए । घटनामा संलग्न बालकलाई कात्तिक २५ गते प्रहरीमार्फत भक्तपुर बाल सुधारगृहमा पठाइएको पनि श्रेष्ठले बताए ।

शारीरिक अपाङ्गता भएकी पीडित बालिकालाई आरोपितले ०७३ भदौ १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष र अपाङ्गता भएकी बालिका माथिको घटना भएको कसुरमा थप पाँच वर्षगरी १५ वर्षकैद हुनेमा आरोपित बालक भएकाले वयस्कलाई हुने सजायको आधा मात्र सजाय सुनाइएको अदालतले जनाएको छ ।


अमर सुनार