यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ भदौ ३१ गते

१४ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले  लुम्बिनी सांस्कृतिक नपा–५ का ३० वर्षीय अब्दुल रसिद मुसलमान विरूद्ध भदौ ३० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितले घरमा सुतेको अवस्थामा भदौ १४ गते घरदेखि टाढा लगेर यौन दुर्व्यवहार गरेको उजुरी आएको र आरोपित उपर अपहरण तथा बलात्कार प्रयास शिर्षकमा मुद्दा दर्ता गरी कारबाही  अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका सई डेलम्बर घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।  उहाँले  आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १४ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।

यसैगरी, २४ वर्षीया महिलालाई बलात्कार गरी गर्भपतन गरेको आरोपमा पीडितले २५वर्षीय पति विरूद्ध भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडितलाई आरोपितले असार २० गते कुटपिट गरी बलात्कार गरेको र चार महिनाको गर्भ पतन भएको उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । डिएसपी खत्रीले  बलात्कार कसुरमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी