यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

  ०७७ जेठ २० गते

११ र १३ वर्षीया बालिकालाई जेठ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा चार जना युवाविरूद्ध प्रहरीले जेठ १८ गते उजुरी दर्ता गरेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यौन दुर्व्यवहार घटनाको आरोपमा चित्रलेखा स्टुडियो सञ्चालक २५ वर्षीय बैजु प्रजापति, २४ वर्षीय बब्लु शेख, २६ वर्षीय बादल जैसवाल र २३ वर्षीय मनिष मिश्र विरुद्ध उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयकी एसपी गङ्गा पन्तले जानकारी दिनु भयो ।

आरोपित उनीहरूलाई प्रहरीले वीरगंज मनपा–१० आर्दशनगरबाट जेठ ५ गते गरफ्तार गरेको थियो । प्रहरीले सुरूमा घटनाका आरोपित चारै जना विरुद्ध जेठ ६ गते सार्वजनिक अपराध अन्तर्गत उजुरी दर्ता गरेर अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धानको क्रममा आरोपित उनीहरूले बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको खुलेको हुनाले तीन वर्ष कैद सजायको माग दावी गर्दै मुद्दा दायर गरिएको एसपी पन्तले जानकारी दिनु भयो ।

पीडित बालिका द्वय अहिले प्रहरीको संरक्षणमा बालमैत्री कक्षमा छन् । बाहिर आएको अफवाह जस्तो यो घटना नभएको र बालिकाले समेत बयानमा वास्तविक कुरा नखुलाउँदा अनुसन्धानमा प्रहरीलाई छानबिन गर्न समय लागेको एसपी पन्तले बताउनु भयो  ।


केसी लामिछाने