यौन दुर्व्यवहार घटनाका आरोपित एसएसपी राणाद्वारा प्रहरीसमक्ष आत्म समर्पण

   ०७६ माघ २० गते

४० वर्षीया महिलालाई यौन  दुर्व्यवहार गरेको आरोप सार्वजनकि भएपछि सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसएसपी ४९ वर्षीय सौरभ राणाले माघ १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा आत्म समर्पण गरेका छन् ।

आफूलाई आरोप लागेको र अनुसन्धानका लागि सहयोग पुग्ने गरी आफूलाई प्रहरीमा आत्म समर्पण गरेको आरोपित राणाले बताउनुभयो ।

झापाकी एक महिलाले एसएसपी राणा विरूद्ध आफूलाई यौन  दुर्व्यवहार गरेको भनी जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी माघ १७ गते उजुरी दिएपछि प्रहरीले राणालाई गिरफ्तार गर्ने तयारी गरेको थियो । तर,आरोपित स्वयमले प्रहरीमा आत्म समर्पण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आरोपितलाई राणा गिरफ्तार गर्न माघ १९ गते सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो । पोखरेलले पक्राउ पुर्जी लिएर गिरफ्तार गर्न जानु अगाडी नै राणा प्रहरीमा आत्म समर्पण गर्न आईपुगेको बताउनुभयो ।

आरोपितले ०७६ साउन २५ गते इटहरीस्थित एक होटलमा यौन  दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितले आरोपित विरूद्ध माघ १७ गते हुलाक मार्फत् जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपछि कानूनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा)मा माघ १७ गते गरिएको एसपी यज्ञविनोद पोखरेलले बताउनुभयो ।


जयकृष्ण यादव