यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७६ कात्तिक २२ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा सिरहा नपा–१५ का २४ वर्षीय झगरू भनिने रामप्रताप यादवविरूद्ध कात्तिक २० गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेकोले कारवाहीको लागि उजुरी दिएको पीडित परिवारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार घटनाको मौखिक जानकारी पहिला नै आएकाले आरोपितलाई कात्तिक १६ गते नै गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २० गते गरिएको प्रहरीले जनाएको छ ।

यसैबिच यौन उक्त घटनाको उजुरी लेखाउन गएको पीडित परिवारसँग लेखापढी व्यवसाय गर्दै आएका गुरूदेव यादवले १० हजार रुपियाँ लिएको जानकारी पाएपछि इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारको पहलमा पीडित परिवारलाई कात्तिक २१ गते यादवले ७ हजार रुपियाँ रकम फिर्ता गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर उमाशङ्करप्रसाद यादवका अनुसार महिलासम्बन्धी घटनाका उजुरी प्रहरीले नै निःशुल्क लेखिदिने गरेको छ ।

‘पीडित हाम्रोमा नआएर व्यवसायीहरूकोमा जाँदा ठगिने गरेका छन् । उजुरी आए उनीहरूलाई पनि कारवाही प्रकृया अगाडि बढाउन सकिन्छ ।’–उनले भने ।


दुर्गा परियार