यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला

  ०७६ मङ्सिर ५ गते

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १७ वर्षीय बालकलाई सप्तरी जिल्ला अदालतले मङ्सिर ५ गते १ वर्ष ६ महिना कैद र २ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलाशले अभियोग दावी पुग्ने फैसला गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।

पीडित बालिकालाई आरोपितले ०७५ असोज २ गते राति नौ बजे आएका आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७५ असोज ४ गते उजुरी दिनुभएको थियो ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गर्दा पीडित रोएपछि आफूले थाहा पाएको र आरोपित फरार भएको उहाँले बताउनुभएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा ०७५ असोज ३ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले ०७५ असोज ४ गते आरोपितलाई गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको आदेशले आरोपित असोज २२ गतेदेखि बालसुधार गृह विराटनगरमा छन् ।


मनोहरकुमार पोखरेल