यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

  ०७६ मङ्सिर ३ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ५८ वर्षीय बाबुलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश किशोर घिमिरेको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै बाबुलाई २० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ पीडितले पाउने गरी क्षतिपूर्ति भराउने आदेश गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले चैत ४ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी चैत २८ गते मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा चैत ४ गते गरिएको थियो ।


इन्दिरा भट्टराई