यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैदको फैसला

  ०७६ असोज ९ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई रुकुम जिल्ला अदालतले असोज ७ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले आरोपित खड्कालाई दोषी ठहर गर्दै कैद सजायसहित २० हजार रुपियाँ जरिबाना र पीडित बालिकालाई १५ हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतका निमित्त श्रेस्तेदार लक्ष्मण बिकले जानकारी दिए ।

पीडित बालिकालाई खड्काले ०७५ फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २२ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई प्रहरीले फागुन २२ गते सिम्लीबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ परीक्षण फागुन २२ गते जिल्ला अस्पताल सल्लेरीमा गरिएको थियो ।

पीडित पक्षले बलात्कार गरेको भनेर उजुरी दिएपनि बलात्कारको अभियोग नठहरेको र यौन दुर्व्यवहार भएको ठहर गर्दै अदालतले सो फैसला गरेको निमित्त श्रेस्तेतार बिकले बताए ।


मनिषा केसी