यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

  ०७६ भदौ २१ गते

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बोदे बर्साइन नपा–७ हैटी टोलका ३५ वर्षीय बरुण रामलाई जिल्ला अदालतले भदौ २० गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

 

न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले आरोपितलाई ६ महिना कैद सजाय गर्नुका साथै पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश गरेको छ ।

 

घरपरिवारका सदस्यहरू धान काट्न खेत गएका बेला रामले ०७५ मङ्सिर २९ गते साँझ पीडितको घरसँग जोडिएको केराबारीमा लगी बालिकालाई काखमा राखी हस्तमैथुन गर्न लगाएको देखेको बताएकी पीडितकी हजुरआमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७५ पुस २ गते उजुरी दिएकी थिइन् ।

 

इलाका प्रहरी कार्यालय बोदे बर्साइनले आरोपितलाई पुस २ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएको थियो ।

 

पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।


मनोहरकुमार पोखरेल