यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैदको फैसला

  ०७६ जेठ ५ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा–१८ का २१ वर्षीय सुन्दर पासवानलाई जिल्ला अदालतले जेठ ५ गते तीन महिना कैद र ३ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश केदारनाथ पौडेलको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल बसन्त काफ्लेले  बताए । सहायक वकिल काफ्लेले १० हजार रुपियाँ क्षतिपुर्तिको समेत फैसला भएको बताए ।

आरोपितले बालिकालाई ०७५ कात्तिक ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ६ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान अस्पतालमा कात्तिक ६ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई कात्तिक ६ गते गिरफ्तार गरेको थियो  ।

जिल्ला अदालतले पासवानलाई मङ्सिर ३ गते १ लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।


दुर्गा परियार