यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

  ०७४ असार २९ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धनगढी गाविस-८ महनौरीका १८ वर्षीय सञ्जिबकुमार मण्डललाई जिल्ला अदालत सप्तरीले असार २८ गते दुई वर्ष १० महिना कैदको फैसला गरेको छ ।

न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले मण्डललाई कैद सजाय गर्नुका साथै आरोपितबाट पीडितलाई ७ हजार रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको अदालतले जनाएको छ ।

जिल्ला अदालतले आरोपित सोही ठाउँका ३० वर्षीय रामउदगार मण्डल र २२ वर्षीय दशनकुमार मण्डललाई भने सफाई दिएको छ ।

आरोपितहरूले पीडितलाई नियन्त्रणमा लिई ०७३ असोज ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले आरोपितहरू दशन र सञ्जिबलाई कात्तिक ४ गते गिरफ्तार गरी कात्तिक ५ गते मुद्दा दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार राजविराजस्थित अञ्चल अस्पतालमा कात्तिक ४ गते भएको थियो ।

जिल्ला अदालतको आदेशले आरोपितहरू पुपर्क्षका लागि कात्तिक २५ गतेदेखि राजविराज कारागारमा थुनामा थिए । अर्का आरोपित रामउदगार गिरफ्तार भएका थिएनन् । आरोपितहरूले रुखको विवादमा झगडा भएपछि आपसमा कुटपिट भएको बताउँदै आएका छन् ।


मनोहरकुमार पोखरेल