यौन दुर्व्यवहार कसुरमा ६ महिना कैद सजायको फैसला

  ०७६ मङ्सिर ५ गते

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कन्काई नगरपालिका–४ का ३८ वर्षीय रत्नबहादुर अधिकारीलाई मङ्सिर ४ गते ६ महिना कैद सजाय फैसला गरेको छ ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आंशिक कसुर ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश दिएको छ ।

पीडित बालिकालाई आरोपितले गत असार १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालयमा अनारमुनीमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतको साउन ४ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा साउन १६ गते गरिएको थियो ।


नरेश खाती