यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

  ०७६ मङ्सिर ५ गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्कालाई मङ्सिर ४ गते एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले कैदसँगै १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो ।

सोही इलजासले सोही घटनामा संलग्न उर्लावारी नगरपालिका–४ का १९ वर्षीय सन्तोष न्यौपानेलाई सफाई दिएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

आरोपितद्वय सार्वजनिक बसका कर्मचारी रहेको र उनीहरूले गत भदौ २२ गते बालिकालाई बसभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही दिन रङ्गेली नगरपालिका–९ बाट गिरफ्तार गरेको थियो ।

बसभित्र बालिका चिच्याएपछि स्थानीयले रङ्गेली प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा भदौ २३ गते गरिएको थियो ।


इन्दिरा भट्टराई