हत्या गरिएको अवस्थामा अपरिचित युवतीको शव फेला

  ०७५ जेठ १२ गते

जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मध्यान्ह १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थलतर्फ गएको थियो ।

मृतक युवतीको टाउकोमा चोट लागेको र घटनास्थलमा रगत बगेको, नजिकैको ढुङ्गामा रगत लागेको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष श्रेष्ठले बताए ।

उनले घटनाको प्रकृति हेर्दा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको देखिन आएको बताए । प्रहरीका अनुसार युवतीको उमेर १८-१९ वर्षको जस्तो देखिए पनि उनको कुनै पनि पहिचान खुल्न सकेको छैन ।

प्रहरीले उक्त शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याएको जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ५ सय मिटरको दुरीमा रहेको छ ।


बिमला पाण्डे