यार्सा खोज्न बालबालिका लेकतिर, विद्यालय बन्द !

  ०७६ जेठ २१ गते

काखमा दुधे बालक । अगाडि सात आठ वर्षीया एक बालिका र पछाडि महिलाहरू । अगाडि गाइवस्तुदेखि भेडा बाख्राको ताती छ । दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीयको लागि सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङ्घर्षको कथा हो ।

Photo20190604Darchula (1)

अपि हिमाल गाउँपालिका-३ का २० वर्षीया तारा बोहरा दुधे बालकसहित यार्सागुम्बा सङ्कलनको लागि लेकतिर जाँदै थिइन् । पिठ्यूँमा लेकको लागि चाहिने खाद्यान्न लत्ताकपडा तथा छातीमा दुधेबालक लिएर जङ्गल पस्दै गरेको उनको त्यो फोटो कथा निकै मार्मिक छ । दुधेबालक सँगै लिएर जाने एक्ली पात्र होइनन् उनी । सुनभन्दा कैयौँ महङ्गो मूल्यमा विक्री हुने यार्सागुम्बामा जीवनमरण गर्नेहरूको ताँती अहिले पहाड उक्लिँदैछन् । यस क्षेत्रका अधिकांश महिलाहरू यसरी नै दुधे बालक लिएर हरेक वर्ष यार्सागुम्बा सङ्कलनमा जाने गर्छन् । यो क्षेत्रका ६ वर्षदेखि ६० वर्ष उमेर समूहका झण्डै ४ हजार जनसङ्ख्या यार्सागुम्बा सङ्कलनको लागि पाटन जाने गर्छन् । एक महिना लामो सङ्घर्ष त्यहि जीवनमरणको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्नमा बिताउँछन् ।

Photo20190604Darchula (3)

यार्सागुम्बाले धानेको यहाँका नागरिकको आयस्रोत र खाद्यान्न जोहोको प्रमुख स्रोत नै यहि एक महिने यार्सागुम्बा हो । गाउँ पार्श्वचित्रमा देखाइएको तथ्याङ्क अनुसार अपि हिमाल गाउँपालिकाका १ हजार २ सय ८ घरधुरी मध्ये १ सय ३३ घरधुरीलाई तीन महिनासम्म खान पुग्दैन । ३ देखि ६ महिनासम्म खान पुग्ने परिवारको सङ्ख्या ६ सय ३९ छ । यस्तै ६ देखि ९ महिनासम्म खान पुग्ने परिवार ४ सय ५ रहेको तथ्याङ्कले देखाएको छ । वर्षभरी खान पुग्ने परिवार सङ्ख्या ३१ रहेको छ ।

बहुमूल्य यार्साको बजार र उपयोगिता जति आकर्षक छ, जति यार्साले आम्दानी बढाएको चर्चा र परिचर्चा छ, त्यसभन्दा कठिन छ, यसको सङ्कलन् । जसरी सजिलै यार्सागुम्बा खोजेजस्तो हल्ला पिट्याइन्छ, त्यो पिडा हिमाली क्षेत्रमा बसोबास गर्ने र यार्सागुम्बामा मात्रै निर्भर क्षेत्रका नागरिकलाई मात्रै छ ।

Photo20190604Darchula (7)

घाँसे मैदानमा फाट्टफुट्ट देखिने यार्सा खोज्नु भनेको फोहरको थुप्रोमा सियो खोज्नुजत्तिकै कष्टकर हुन्छ । सङ्कलकहरूले पाटनमा एक इन्च ठाउँ पनि खाली नराखी भुइँमा घर्स्रंदै यार्सा खोज्छन् । दिनभर खोज्दा कहिलेकाहीँ त एउटा पनि पाइँदैन ।'-सङ्कलक गौमति कार्कीले भनिन् ।

विकट र अत्यधिक चिसो ठाउँमा पाइने भएकाले यसको खोजी गर्न जाँदा ज्यानको बाजी लगाउनुपर्छ । त्यस कारण यार्सा सङ्कलनका क्रममा कतिपय मान्छे लेक लागेर, बिरामी भएर, हिउँमा चिप्लिएर, पहिरोमा पुरिएर वा नदीमा खसेर ज्यान गुमाउँछन् पनि । यार्सासँग सम्बन्धित घटनामा गत वर्ष मात्र चार जनाले ज्यान गुमाएका थिए । हरेक वर्ष यार्सागुम्बा खोज्ने क्रममा बालबालिकाहरूले हिउँमा चिप्लिएर, भीरबाट लडेर ज्यान गुमाउने गरेका छन् ।

गाउँ रित्तिँदै, लेक भरिँदै

दार्चुलाको अपि हिमालको घुसा, खण्डेश्वरी, व्यासको छाङ्गरू, तिङ्कर र राप्लाका अधिकांश स्थानीय यो सिजनको लागि लेकतिर उक्लिएका छन् । हिमाली बासिन्दाको मुख्य आयस्रोत यार्सागुम्बाको 'सिजन' सुरू भएसँगै मानिसहरू लेकतर्फ उक्लिएका हुन् ।

Photo20190604Darchula (9)

विगतका वर्षजस्तै यस वर्षपनि यार्सा सङ्कलन क्षेत्रमा एकदेखि डेढ दुई महिनाका लागि सामानको ढुवानी गर्नेको लर्को दिनदिनै देखिन्छ । घुसा र खण्डेश्वरीमा अहिले गाउँमा मान्छे भेट्टाउनै नसकिने अवस्था आइसकेको छ ।

'यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ अनुसार जेठ दोस्रो साताबाट लेक खुलेपछि अहिले गाउँ रित्तिँदैछन् ।'-स्थानीय कल्यानसिँह बोहराले भने । गाउँमा कोही घरमा बुढाबुढी बाहेक मान्छे भेटिँदैनन् । अधिकांश स्थानीयले गाईगोरू भेडाबाख्रा र लालाबालासहित लेकतिर हिँडेका छन् । क्षति घाजिर पाथा गाउँतिर ढोकामा ताला लगाएर स्थानीय बहुमूल्य जडिबुडी यार्सागुम्बा खोज्न पाटन गएका छन् ।

Photo20190604Darchula (10)

सङ्कलन अवधिभरको लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य दैनिक उपभोग्य सामग्री लिएर सङ्कलकहरू लेक पुगेका छन् । यार्सागुम्बा खोज्नको लागि रोजगारी र अध्ययनको लागि गाउँ भन्दा बाहिरएका युवा, महिला सबैजस्तो परिवार सामूहिक रूपमा यार्सागुम्बा सिजनको योजना बनाउँदै लेकतिर पसेका छन् । यस क्षेत्रबाट बाहिर पढ्न जाने, गाउँबाट शहर बसोबास गरेकाहरू पनि लेकको लागिगाउँ फर्किएका छन् ।

'जिल्ला बाहिरीकासमेत यार्सागुम्बा सङ्कलन गर्न पाटनतिर लागेका छन् ।'-बोहराले भने-'यार्सागुम्बाको आकर्षणले बास बस्नेहरू दैनिक बढ्दैछन् । यार्सा पाइने अपि हिमालको लोलु, अपि फेद, रोखापु, सातगंगा फुल्टीवन, चाइमटेला, घाजिर, धरमघर, घट्टेखोला, काटै, सुर्मा लगायतका वनहरूमा यतिबेला सङ्कलकहरूको भीड लागेको छ ।'

यस्तै व्यासको अपि नाम्पा फेद, दुधिवन, स्याङ्पा, गल्गासे, होमदङ्ती, घट्टेखोला, मुल्तीतिछडे, सितालनौन्था लगायतका पाटनहरूमा सङ्कलकहरू पुगेका छन् । 'यार्सायाम सुरू भएपछि वर्षैपिच्छे सङ्लकहरूको भिड हुन्छ ।'-अपि हिमाल-१ का स्थानीय झुनसिंह जागरीले भने-'होटलहरू पनि राम्रो चलेका छन् । दिउँसो खाना र राति बस्ने सङ्लकहरू होटलमै पुग्छन् । एउटै वनमा ४-५ हजार बढी सङ्कलकहरू पस्ने गरेका छन् । यहाँबाट पनि लेक जानेको लामो लस्कर हेरि नसक्नु हुन्छ ।'

जेठ पहिलो सातादेखि असार महिनासम्म यार्सा सङ्कलन क्षेत्रमा भीड हुने गर्छ । 'गाउँमा अशक्त, बृद्धबृद्धा, सुत्केरी, महिला, हिँडडुल गर्न नसक्ने बालबालिका मात्रै छन् ।'-अपि हिमाल गाउँपालिका-४ का दमनसिंह बोहराले भने । प्राय अहिल्यै गाउँ रित्याएर लेकको उकालो लागि सके, अधिकांश घरमा ताला झुण्डिएका छन् । यार्सागुम्बा खोज्ने सिजनमा यदि कसैको गाउँमा मृत्यु भइहाल्यो भने पनि मलामी जाने मान्छे हुदैनन् । अपिहिमालको घुसा खण्डेश्वरीबाट दुई दिनमा सङ्कलन क्षेत्र पुगिन्छ ।

गरिबीका कारण पनि यहाँका स्थानीय एक देखि डेढ दुई महिनामा यार्सागुम्बा सङ्कलनमा कडा मेहनत गर्छन् । यस क्षेत्रका स्थानीयको झण्डै ४ करोड ४० लाख रुपियाँ बराबरको खर्च खाद्यान्नमा मात्र हुने गरेको एक अध्ययनले देखाएको छ । सडक सञ्जाल नजोडिएको क्षेत्रमा खेतीपाती कम उत्पादन हुन्छ भने ढुवानी भाडा महङ्गो छ । यस्तै स्वास्थ्यमा १ करोड ८७  लाख रुपियाँ बराबरको खर्च हुने गरेको छ । यहाहँका स्थानीयको मुख्य पेसा भनेकै कृषि र पुशपालन हो ।

विद्यालय बन्द गरेर शिक्षक विद्यार्थी लेकतिर

अपि हिमाल गाउँपालिकाभरका २१ ओटा तथा व्यास गाउँपालिका वडा नम्बर २ र ३ का आठ ओटा विद्यालय जेठ १५ गतेबाट बन्द भएका छन् । शिक्षा युवा तथा खेलकुद शाखाले झण्डै एक महिना हिउँदे विदामा मिलान हुने गरी यार्सागुम्बाको विदा दिएका छन् ।

अधिकांश विद्यार्थीहरू लेकतिर पसिसकेका छन् । विद्यार्थीको आयस्रोत पनि यार्सागुम्बा भएको कारण विद्यालय बन्द गर्नुपरेको शिक्षक दमनसिंह बोहराले जानकारी दिए । अभिभावकसँगै सबै बालबालिका यार्सागुम्बा खोज्न लेकतिर गएपछि विद्यालय बन्द गरिएको छ ।

यार्सा सङ्कलन गर्दा सबैजसो घरबाट बालकदेखि हिँड्डुल गर्नसक्ने बृद्धसम्म यार्सा सङ्कलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका व्यास गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखा संयोजक भुपसिंह कुँवरले जानकारी दिए । व्यासका अन्य वडाका विद्यालयमा भने विदा दिइएको छैन ।

'यो हाम्रो यार्सा टिप्ने समयमा एक महिनासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।'-महादेव मावि घुसाका प्रधानाध्यापक शेरसिंह धामीले भने-'शिक्षक विद्यार्थी सबै जानुपर्ने बाध्यता छ । यस क्षेत्रका बासिन्दाको वर्षभरिको कमाइ भनेको यहि महिना हो ।' यार्सागुम्बा समुद्र सतहदेखि ३ हजार ८ सय मीटरदेखि ४ हजार ८ सय मीटरसम्मको उचाइमा पाइन्छ ।

कानुनले के भन्छ ?

यार्साको सिजन सुरू हुने बित्तिकै हालसम्म तीन जना बालबालिका लडेर घाइते भए । उनीहरू हिउँमा चिप्लिएर घाइते भए । अपि हिमाल गाउँपालिका-३ क्षतिको धरमघर र घट्टेखोलामा यार्सागुम्बा खोज्न गएका उनीहरू लडेर घाइते भए । घाइते हुनेमा अपिहिमाल गाउँपालिका-३ का १५ वर्षीया वविना धामी, १८ वर्षीय मिसन बोहरा, मार्मा गाउँपालिका-४ का २० वर्षीया धाना महता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यार्सागुम्बा व्यवस्थापन सङ्कलन तथा ओसारपसार निर्देशिका २०७३ ले यार्सागुम्बा सङ्कलनको क्रममा बालबालिकालाई प्रवेश निषेध गरिएको छ । यार्सागुम्बा सङ्कलनको लाग १६ वर्ष उमेर पूरा गरेको व्यक्तिले मात्रै अनुमति पाउनेछन् भनेर व्यवस्था गरिएको छ । तर, जङ्गलमा यार्सागुम्बा खोज्ने जाने बालबालिका छन् ।

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हक उल्लेख गरिएको छ । सो धाराको उपधारा ३ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी, वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनेर उल्लेख छ ।


नरेन्द्रसिंह कार्की