याताना पीडित महिला न्यायको याचना गर्दै इन्सेकमा

  ०७३ कात्तिक १ गते

कद्माहा-२ की ४० वर्षीया गुलेफुन खातुनले इलाका प्रहरी कार्यालय रङ्गेलीमा आफूलाई २८ दिन सम्म यातना दिएको आरोपसहित न्यायका लागि सहयोग गरिदिन इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा आएर क्षेत्रीय कार्यालय संयोजकसमक्ष आग्रह गरेकी छन् ।

पीडित महिलाले आफूमाथि प्रहरीले गरेको यातना र अमानवीय कार्यविरुद्ध न्यायका लागि सहयोग गरिदिन इन्सेक क्षेत्रीय कार्यालयका संयोजक सोमराज थापासमक्ष आग्रह गर्दै कार्तिक १ गते लिखित निवेदनसमेत दिएकी हुन् ।

मोही हक नामसारी गर्नका लागि कद्माहा गाविसका प्रविधिकले रसिद काटेर बनाइदिएको सिफारिस पत्र जालसाजी गरेको आरोप लगाएर प्रहरीले नियन्त्रणमा लिई उल्टो झुण्ड्याई यातना दिएको गुलेफुनले आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका हवल्दार सरोज पण्डितले उल्टो झुण्ड्याई याताना दिएको, खानामा समेत थुकिदिएको उनले आरोप लगाइन् ।

पीडितका अनुसार गत असार ४ गते कर्सिया प्रहरी चौकीको एक टोलीले घरबाट नै काम छ भन्दै लिएर इलाका प्रहरी कार्यालय रङ्गेलीमा लगेको थियो । न्यायका लागि उनले कार्तिक १ गते नै राष्ट्रिय मानव अधिकार आयोगमासमेत उजुरी दिएको बताइन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर अभिचन्द्र रिजालले भने प्रहरीले याताना नदिएको प्रतिक्रिया दिएका छन् ।


इन्दिरा भट्टराई