यातना पीडितहरूले भने– अपराध गर्नेलाई सजाय र माफी दुवै चाहिन्छ

  ०७६ कात्तिक ४ गते

सशस्त्र द्वन्द्वका क्रममा अपाङ्गता भएका तथा यातना पीडितहरूले न्यायिक प्रक्रियामा भइरहेको ढिलाई प्रति चिन्ता व्यक्त गर्दै आफूले भोगेका पीडाहरू सरोकारवालाहरूलाई सुनाएका छन ।

द्वन्द्व पीडित साझा चौतारी केन्द्रीय समितिले कात्तिक ४ गते घोराहीमा आयोजना गरेको द्वन्द्वमा भएका मानव अधिकार उल्लङ्घनका कारण अपाङ्गता भएका तथा यातना भोगेका व्यक्तिहरूको पीडा, भोगाई, असर तथा सङ्घर्षसम्बन्धी सत्यको बयानमा बोल्दै पीडितहरूले लामो समयसम्म पनि राज्यले पीडितहरूको समस्या बुझ्न नसकेको गुनासो गरे ।

व्यवस्था परिवर्तनका लागि आधा जीवन दिएको भन्दै उनीहरूले दोषीहरूमाथि कारवाही र माफी दुवैै दिन सकिने बताए ।

‘न्याय  पाइन्छ भनेरै सत्यनिरूपणमा निवेदन दिएका हौँ । हामीलाई एकसरो सोध्ने काम अहिलेसम्म पनि भएन ।’–तत्कालिन विद्रोही पक्षको कुटपिटबाट दुवै आँखा गुमाएका चौरजहारी नपा–११ पश्चिम रूकुमका ७० वर्षीय गोपालप्रसाद शर्माले भने–‘सरकारले हामीलाई खेलौना बनाइरहेको छ । हामीले न्याय र राहत दुवै पाउनुपर्छ ।’

रूपन्देही जिल्लाका ५९ वर्षीय यातना पीडित चुडामणी ढकालले राज्यपक्षबाट भएका यातनाकै कारण अशक्त जीवन बिताइरहेको भन्दै न्यूनतम मानव अधिकारको सम्मान नगर्नेहरूलाई पाँच घण्टामात्रै भएपनि हिरासतमा राख्नुपर्ने बताए ।

तर, उनले यातना दिनेहरू आफ्नो अगाडि आएर माफी मागे माफी दिने बताए । ‘नाकबाट पानी हाल्ने, औला र नङमा पिन ठोक्ने, विद्युतीय तारमा पिसाव गर्न लगाउनेजस्ता यातना दिँदा अङ्गभङ्ग भएर बाँच्नु परेको छ ।’–ढकालले भने–‘उनीहरू मेरै अगाडि आएर माफी मागे माफी दिन तयार छु । तर कतिपय घटनाका दोषीहरूलाई पाँच घण्टामात्रै भएपनि थुन्नुपर्छ ।’

सशस्त्र द्वन्द्वका क्रममा तत्कालिन नेपाली सेनाले विद्रोही माओवादीको नाममा आफूलाई गिरफ्तार गरी चरम यातना दिँदा दुवै कानको सुन्ने शक्ति गुमाएको र करेन्ट लगाएकै कारण पिसाव चुहिने समस्या भोगिरहेको भन्दै ढकालले पीडतहरूका समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए ।

यातना र अङ्गभङ्ग हुँदा बाँकी जीवन व्यतित गर्न ठूलो समस्या परेको भन्दै पीडितहरूले आफ्ना सङ्घर्षका कथा सुनाउन समेत नपाउँदा दुःख लागेको उनको भनाई छ ।

‘सरकार फेरिए, नेता आए गए तर हाम्रा पीडा सकिएनन् ।’–सल्यानका ८१ वर्षीय भुपेन्द्रबहादुर खत्रीले भने–‘द्वन्द्व पीडित, घाइते, अपाङ्गहरूबीच भेटघाट गर्ने, पीडा सुनाउने मौका पाउँदा मन हलुङ्गो भएको छ । एकले अर्कालाई हेरेर चित्त बुझाएका छौँ ।’

दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही, प्युठान, रोल्पा, सल्यान र रूकुम पश्चिमबाट आएका अपाङ्गता भएका र यातना पीडितहरूले राजनीतिक दल, स्थानीय सरकारका प्रतिनिधिलाई मात्रै होइन पीडितहरूले एकअर्कालाई नै पीडा सुनाएर मन हलुङगो बनाएको बताए ।

कार्यक्रममा द्वन्द्वपीडितहरूको साझा संस्था द्वन्द्वपीडित साझा चौतारीका केन्द्रीय सचिव देवबहादुर महर्जनले राज्यले पीडितहरूका गुनासा र सङ्घर्षका कुरा नसुनेपछि पीडित आफैँले एकअर्कालाई कथा व्यथा सुनाउन बाध्य भएको बताए ।


जे.एन.सागर